'खडेरीका कारण काेदाेकाे बिउ सुक्यो, धानकाे ब्याड राख्न पाइएन'

 जेठ २७, २०८० शनिबार १५:३९:४३ | रासस
unn.prixa.net

फाइल तस्बिर

पर्वत - लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा रोपाइँ प्रभावित भएको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन्। 

यस अघिका वर्षमा जिल्लाका प्रायजसाे वडामा अहिलेसम्म कोदो रोपाइँ सकिन्थ्यो । केही वडामा धान रोपाइँ हुन्थ्यो तर यस वर्ष भने कुनै पनि वडामा रोपाइँ सुरु नभएको कृषकले बताएका छन् । लामो समयदेखि वर्षा नभएका कारण कोदोको बिउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको कुश्मा नगरपालिका–१२ का कृषक रामप्रसाद सापकोटाले बताउनुभयो । 

गएकाे वर्ष कोदो रोपिसकेर धान रोपाइँ सुरु गरेका थियौँ उहाँले भन्नुभयो, 'यस वर्ष कुनै पनि रोप्न पाइएको छैन, कोदोको बिउ सुकिसकेको छ भने धानको बिउसमेत राख्न पाइएको छैन ।' धानको पानी बिउ राख्ने प्रचलन भए पनि जेठ अन्तिम हप्तासम्म वर्षा नभएपछि कतिपयले धुले बिउ राख्नथालेका छन् । 
    
सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बिउ राख्न र रोपाइँ गर्न समस्या भएको फलेवास–५ का हरि पौडेलले बताउनुभयो । यस वर्ष समयमै रोपाइँ गर्न नपाइने भयो । पछिल्ला केही दिनयता तापक्रमसमेत ह्वात्तै बढेका कारण लगाएका बालीनालीसमेत ओइलाउँदै गएको उहाँले बताउनुभयो ।

पर्वतका प्रायजसाे वडामा वर्षाको भरमा खेतीबाली लगाउने गरिन्छ । झण्डै सात हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला नै सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । जिल्लाभर ९ हजार ५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झण्डै सात हजार हेक्टरमा कोदो र मकै खेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ । 
    
कृषि ज्ञान केन्द्र पर्वतले लामो समयदेखि वर्षा नहुँदा पर्वतमा रोपाइँ गर्न समस्या भएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् । वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले यो महिनाको अन्त्य वा असार महिनाको पहिलो हप्तासम्म मनसुन सक्रिय भएमा उत्पादनमा भने असर नगर्ने बताउनुभयो ।  रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान, कोदो उत्पादन राम्रो हुने उहाँको भनाइ रहेको छ । जिल्लाका सात पालिकाका ६१ वडाकै कृषक यतिबेला मनसुनको पर्खाइमा रहेका कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया