घडियाल गाेहीकाे अण्डा ३२ डिग्री सेल्सियस तापक्रममा राखे भाले, तलमाथि भए पाेथी

 जेठ २८, २०८० आइतबार १७:११:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा गोहीका २० वटा बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर–२ मा राखेको ३७ वटा अण्डामध्येबाट २० वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार केन्द्रले गएको वैशाख ८ गते राप्ती नदीको सीतामाईदेखि सौराहासम्म आठ वटा गुँडबाट दुई सय ४२ वटा अण्डा सङ्कलन गरेको थियो । ती अण्डा केन्द्रमा बच्चा जन्माउनका लागि राखिएको थियो । तीमध्ये २० वटा गोहीको बच्चा कोरलिएको तिवारीले जानकारी दिनुभयो । अन्य अण्डाबाट समेत बच्चा कोरल्ने प्रक्रिया भइरहेको छ ।

घडियाल गोहीको लिङ्ग निर्धारण अण्डा राखिएको ठाउँको तापक्रममा भर पर्छ । अण्डा राखिएको वा रहेको गुँडको तापक्रम बच्चा कोरल्ने समयमा ३२ डिग्री सेल्सियस रहेको खण्डमा भाले र त्यसभन्दा तलमाथि भएमा पोथी निस्कने सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । त्यसअनुसार २० वटा अण्डालाई ३२ डिग्री सेल्सियसको तापक्रम कायम गरी राखिएको थियो ।

निकुञ्जले २०३५ सालमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरी गोहीका बच्चा हुर्काएर नदीमा छाड्दै आएको छ । घडियाल गोहीको प्राकृतिक बासस्थानमा बच्चा हुर्कने र बाँच्ने दर न्यून हुन्छ । प्रजनन केन्द्रमा हुर्काएर अहिलेसम्म एक हजार आठ सय ५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा धेरै राप्तीमा एक हजार एक सय ३२ वटा गोही छाडिएको छ । यस्तै नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोसीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छाडिएको छ ।

नदी प्रदूषित हुँदै जानु, जथाभाबी नदीजन्य पदार्थको उत्खनन गर्नु, माछा मार्न ठूला जाल प्रयोग गर्नुजस्ता कारणले गोही संरक्षणमा समस्या भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी तिवारीले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया