डडेलधुराको नवदुर्गाका अभिभावकविहीन ९४ बालबालिकालाई सामाजिक...
मंसिर ३०, २०८१ आइतबार
काठमाण्डौ – कलङ्की चोकमा एकाबिहानै मास्क लगाएर टहल्दै गरेका राजाराम पौडेललाई आजकाल बिहान घर बाहिर निस्कनै मन लाग्दैन । तर व्यापार गर्ने उहाँलाई घर बाहिर निस्कनैपर्छ । श्वाससँगै प्रदूषित हावाको कण शरिरमा प्रवेश नगरोस भनेर मास्क लगाउनुहुन्छ । तर त्यसले पनि थेग्दैन ।
आँखा पोल्ने, लगातार खोकी लाग्ने, घाँटीमा घाउ हुने जस्ता समस्या उहाँका लागि सामान्य जस्तै भइसके । उहाँ भन्नुहुन्छ ‘धुवाँ र धुलोका कारण थकान र लगातार खोकी लाग्ने समस्या पनि बढेको छ । बाँच्नका लागि जेनतेन श्वास फेरिरहन बाध्य छौँ ।’
हिजोआज काठमाण्डौ उपत्यकाको हावा सँधैजसो प्रदूषित हुन्छ । पहिले जस्तो काठमाण्डौबाटै देखिने हिमालका दृश्य पनि सफा र स्पष्ट देखिँदैनन् । उहाँ भन्नुहुन्छ ‘प्रदूषण बढेर होला अब त केवल धमिला टुप्पा मात्र देखिन्छन् ।’
वायु प्रदूषणको असर अहिले हरेक व्यक्तिको दैनिक जीवनको अङ्ग बनेको छ । यो समस्या दिनप्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषण स्वास्थ्यको लागि ठूलो खतरा बनिरहेको छ, विशेषगरी दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकामा ।
अनामनगरकी स्थानीय गीता कार्की आफू र आफ्नो पाँच वर्षको बच्चालाई रुघा खोकी र घाँटीमा समस्या भएपछि अस्पताल जानुभयो । परीक्षण गराउँदा डाक्टरले प्रदूषणका कारण घाँटीमा एलर्जी भएको बताए । बच्चालाई पनि खोकी र छाती दुख्ने समस्या देखिएको छ । यसको मुख्य कारण पनि वायु प्रदूषण नै भएको डाक्टरले बताएका कार्की बताउनुहुन्छ ।
हरेक हिउँदको समस्या
मनसुन बाहिरिएसँगै शुरू हुने वायु प्रदूषणको समस्या मनसुन भित्रने समयसम्मै रहन्छ । चिसो याममा भौगोलिक स्वरुपको कारणले पनि काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढ्ने वायु गुणस्तर विज्ञ डा.भूपेन्द्र दास बताउनुहुन्छ ।
यस्तै फागुन चैत पछि देशभर बढ्ने डढेलोका कारण धुवाँ फैलँदा वायु प्रदूषण बढ्छ । कतिपय समयमा काठमाण्डौ उपत्यका विश्वकै सबैभन्दा बढी प्रदूषित शहरसमेत बन्ने गरेको छ ।
हावाको प्रदूषण मापन सूचक (एक्यूआई) एक सय ५० भन्दा माथि पुगेपछि त्यहाँको हावा मानिसका लागि अस्वस्थ हुन्छ । तर हिउँदभर धेरैजसो समय काठमाण्डौ उपत्यकाको एक्यूआई एक सय ५० भन्दामाथि हुने गरेको वातावरण विभागले राखेका मापन केन्द्रहरुले देखाउँछन् ।
एक्यूआई तीन सयभन्दा माथि पुगेमा मानिसको स्वास्थ्यका लागि घातक मानिन्छ । कतिपय अबस्थामा काठमाण्डौका एक्यूआई तीन सयभन्दा माथि पनि पुग्ने गरेको छ ।
जलवायु परिवर्तन र वायु प्रदूषण
वायु प्रदूषण र जलवायु परिवर्तन दुवै वातावरणीय चुनौतीहरू हुन्, जुन एक–अर्कासँग गहिरो रूपमा जोडिएका छन् । यी दुई प्रक्रियाहरू एक–अर्कालाई बढावा दिन्छन् र पृथ्वीको पारिस्थितिकीय तन्त्रमा गम्भीर परिणामहरू निम्त्याउने वायु गुणस्तर विज्ञ डा.भूपेन्द्र दास बताउनुहुन्छ ।
वायु प्रदूषणका प्रमुख स्रोतहरूमा फोहोर वा दाउरा बाल्नु, औद्योगिक कारखानाहरूबाट निस्कने धुवाँ, जीवाश्म इन्धनमा आधारित गाडी, कृषि क्षेत्रबाट निस्कने रासायनिक पदार्थहरू लगायत छन् ।
डा. दास भन्नुहुन्छ ‘वायु प्रदूषणले प्रत्यक्ष रूपमा ग्रीनहाउस ग्यासहरूको उत्सर्जनमा वृद्धि गर्छ । कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड जस्ता ग्यासहरूले वातावरणमा तापीय ऊर्जा बढाउँछन्, जसले विश्वप्यापी तापमान वृद्धिलाई बढवा गर्छ ।’ प्रदूषणका कारण वातावरणमा तापमान निरन्तर बढ्दै जान्छ ।
कालो कार्बन र अन्य कालो कणहरूले हिमतालहरूमा जम्मा हुन्छन्, जसले तिनीहरूको तापीय अवशोषण क्षमतालाई बढाउँछ । यसका कारण हिमताल झन् चाँडो पग्लन थाल्छन् । यो पनि जलवायु परिवर्तनसँग जोडिएको समस्या हो ।
वातावरणीय असर
वायु प्रदूषण र जलवायु परिवर्तनले जैविक विविधतामा असर गर्छ । यस्तै कृषि उत्पादकत्वमा गिरावट, प्राकृतिक आवासहरूको विनाश लगायतका समस्या आउँछन् । वायु प्रदूषणले तापमान बढेसँगै अनियमित वर्षा बढेर प्रकोपका घटना बढ्छन् भने बाढी र सुक्खाको चरम अवस्थाहरू आउन सक्छन् ।
वायु प्रदूषणका कारण श्वासप्रश्वास, मुटु र आँखासम्बन्धी समस्याहरू तीव्र रूपमा बढाएको डाक्टरहरु बताउँछन् । स्वास्थ्यमा सीधै गर्ने असर त छँदैछ यसको कारण जलवायु परिवर्तन भएर वातावरणमा अरु थुप्रै समस्याहरु आउने जलवायु विपद् विज्ञ डा.धर्मराज उप्रेती बताउनुहुन्छ ।
वायु प्रदूषण घटाउने पहल
यसपालि मात्रै होइन हरेक वर्ष वायु प्रदूषणले जनजीवनमा असर गर्ने गरेको छ । काठमाडौसहित शहर विश्वमै प्रदूषित शहरहरुमध्येमा पर्छन् । सरकारले प्रदूषण रोकथाम र न्यूनीकरणका लागि विभिन्न प्रयास गरे पनि ती प्रभावकारी भएका छैनन् ।
वायु प्रदूषण फौलाउन मुख्य भूमिका मानिने पुराना गाडी तथा उद्योगहरुलाई नियमन गर्ने नीति विद्युतीय चुल्हो वितरण लगायत सबै प्रकारका प्रदूषण रोकथाम तथा न्यूनिकरणका लागि तीन वर्ष अघि राष्ट्रिय वातावरण नीति ल्याएको थियो ।
वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीका अनुसार वायु प्रदूषण नियन्त्रणका लागि विभिन्न वैकल्पिक उपायहरूको प्रयोग भइरहेको छ ।
यसमा वायु गुणस्तर निगरानी, गाडीको जाँच, उद्योगहरूको अनुगमन, सडकको धुलो नियन्त्रण गर्न सडक विभागसँग समन्वय, र नागरिकलाई सचेतना अभिवृद्धि गर्ने कार्यहरू समावेश छन् ।
यी प्रयासहरू वायु प्रदूषण कम गर्न प्रभावकारी रूपमा अघि बढिरहेका छन् । तर प्रदूषण घटाउने यस्ता प्रयासहरु असफल भइरहेका छन् ।
समाधानका लागि गर्नुपर्ने कामहरू
वायु प्रदूषणको समस्या समाधानका लागि सरकारको प्रयाससँगै नागरिकको सहभागिता र जिम्मेवारी पनि आवश्यक छ । प्रदूषण नियन्त्रणका लागि हरेक नागरिकले आफ्नो योगदान पुर्याएर, वातावरणीय सचेतनामा वृद्धि गर्दै एक स्वस्थ भविष्यको निर्माणमा सहयोग गर्नुपर्नेछ । सकेसम्म वातावरणमैत्री काम गर्नुपर्छ ।
खेतबारीमा कृषि अवशेष र फोहोरमैला नजलाउनु, वन डढेलो हुन नदिन सावधानी अपनाउनु र सरकारी नीति–नियमको पालनामा सबैको सक्रिय सहभागिता आवश्यक छ ।
सरकारले पनि नयाँ र प्रभावकारी नीति निर्माण गरी आधुनिक प्रविधिको प्रयोगमार्फत प्रदूषण नियन्त्रणमा जोड दिनुपर्छ । यसरी सामूहिक प्रयासले प्रदूषण कम गर्न सकिन्छ ।
सबैले सकेसम्म स्वच्छ ऊर्जा अर्थात बिजुलीको प्रयोग बढाउनुपर्छ । पेट्रोलियम गाडीको सट्टा विद्युतीय गाडीको प्रयोग, उद्योगहरुलाई आधुनिकीकरण गर्ने जस्ता काम गरेर हावामा हुने प्रदूषण घटाउन सकिन्छ । व्यक्ति र समुदायले आफ्नो दैनिकीमा सुधार गरी हावामा प्रदूषण हुने गतिबिधिहरु घटाउनुपर्ने र सरकारले पनि नीतिगत सुधारसहित काम गर्नुपर्ने वायु गुणस्तर विज्ञ डा.भूपेन्द्र दास बताउनुहुन्छ ।
सरकारले कार्बन उत्सर्जन नियन्त्रणका लागि नियम बनाएर कडा कार्यान्वयन गर्नुपर्छ । हरित औद्योगिकीकरणमा प्रोत्साहन र अन्तर्राष्ट्रिय सहकार्य सरकारले गर्नुपर्ने प्रमुख कामहरु हुन् ।
वायु प्रदूषण र जलवायु परिवर्तन एक जटिल र परस्पर निर्भर प्रक्रिया हो । यसको समाधानका लागि व्यक्तिगत, सामुदायिक र विश्व स्तरमा समन्वित प्रयासहरू आवश्यक छन् । हाम्रो भावी पुस्ताका लागि स्वस्थ र स्थिर वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्वपूर्ण हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीता बि.के. उज्यालो सहकर्मी हुनुहुन्छ ।