बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल

 जेठ २८, २०८० आइतबार १८:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गर्नुभएको छ ।

आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन पाँच वर्ष नै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशय व्यक्त गर्नुभएको हो । उहाँले बजेटमा सबै जना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिनुभयो । 

अध्यक्ष नेपालले बजेट तीन वटा जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आउनुभएको छ । साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ । यद्यपि नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरूले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् । सत्तापक्षकै सांसदहरू बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आमनागरिकमा आशङ्का उत्पन्न भएको छ ।  

उहाँले भन्नुभयो, ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो भने सरकार दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई सच्याउनुपर्छ । मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ । यो सरकार ढल्न दिनु हुँदैन, पाँच वर्षसम्म यो गठबन्धन चल्छ ।’

अध्यक्ष नेपालले भारतकाे नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले कम्युनिस्ट नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपति जानुभयो नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कोही आस्थाले र कोही चर्चा कमाउनका लागि मन्दिर जाने गरेको बताउनुभयो । हिजाे शनिवार प्रधानमन्त्रीसहितको मन्त्रीमण्डल पशुपतिनाथ दर्शनका लागि पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया