पशुपतिकाे जलहरीबारे सदस्य सचिव– ‘सुन चाेरकाे आराेप लगाएर गाउँभरि बेइज्जत भयाे, १० केजी नै सुन छ’

 जेठ ३०, २०८० मंगलबार १६:१९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ ।

मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले यस्ताे दाबी गर्नुभएकाे हाे । आफूले पटक–पटक जलहरीको सुनकाे तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर सरकारले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहँभरि आँशु झार्नु भयो । आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्यसमेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उहाँले सुन चोरी गरेको प्रमाण भेटिए जस्तोसुकै सजाय भाेग्न तयार रहेको बताउनुभयाे । 

उहाँले भन्नुभयो, ‘म सुनको जलहरी समितिको संयोजक हो । यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौताअनुसार हामीले १०३ केजी सुन लिएर आएका छौँ । राज्यका प्रमुखहरूले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो ? अर्को कुरा, नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने त ? यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्युटीमा रहेको छ । सुन हराएको हो भने सेनाले जिम्मा लिन पर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिज्यूसँग पनि कुरा गरेको थिएँ । १० केजी सुन शिवले पहिरिएर राख्नुभएको छ । जलहरीमा १० केजी पुगेन भने जस्ताेसुकै सजाय भाेग्न तयार छु । आज मेरो गाउँभरि बेइज्जत भयो । म कमजोर होइन । तर राज्यले कमजोर बनायो नि त । आयोगले छानबिन गर्न नपर्ने ? पटक–पटक हामीलाई मुद्दा चलाउँछु भनेको छ । जोखेर मुद्दा चलाउन । यो च्यालेन्ज हो ।’

सदस्य सचिव थापाले जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरि जथाभाबी आरोप लगाउन नमिल्ने बताउनुभयो । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढङ्गले प्रतिवेदन आएको उहाँको दाबी छ । बैठकमा सांसदहरूले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sumod Thapa

    June 14, 2023, 6:43 a.m.

    Very good jawaf Thapa JEE .

  •  0 Reply

तपाईको प्रतिक्रिया