कसैलाई तर्साउन र कसैसँग मुकाबिला गर्न समाजवादी मोर्चा बनाएकाे हाेइन : माधव नेपाल

 असार ४, २०८० सोमबार १९:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरेको बताउनुभएको छ । कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी एमाले अध्यक्ष केपी ओलीले गरेको स्मरण गराउँदै उहाँले यस्तो भनाइ राख्नुभएको हो ।

सोमवार काठमाण्डाैमा आयोजित 'समाजवादी मोर्चा नेपाल' घोषणा कार्यक्रममा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताउनुभयो । मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्नका लागि नभएको उहाँकाे भनाइ थियाे । उहाँले प्रतिगमनका पक्षमा नभएकाहरू मोर्चासँग डराउन सक्ने जिकिरसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन । यो मोर्चा सिद्धान्तहीन मोर्चा होइन । यो मोर्चा विचारहीन मोर्चा होइन । यसको प्रस्ट उद्देश्य छ । हामी प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकताबद्ध हुने सम्पूर्ण देशभक्तहरू र समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर लैजान चाहन्छौँ । केही केही नेताहरूलाई याे माेर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न बनाइएकाे हाे भन्ने लागेकाे रहेछ । तर याे माेर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्नका लागि पनि होइन ।’

अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरूलाई मोर्चामा आबद्ध हुन पनि आह्वान गर्नुभयो । सत्तापक्ष र सत्ताबाहिर रहेका दल सहभागी रहेको मोर्चाले सबै शक्तिहरूलाई समेटने सामर्थ्य राखेकाे उहाँले दाबी गर्नुभयाे । समाजवादी शक्तिमा रहेका नागरिकको प्रभावलाई विस्तार गर्न पनि आफूहरूले याे मोर्चा बनाएर अघि बढ्ने निर्णय लिएको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया