गर्मीयाममा आँखामा देखिने समस्या र जोगिने उपाय

 असार १४, २०८० बिहीबार ९:४३:० | डा. इन्दुप्रसाद ढुङ्गेल
unn.prixa.net

साङ्केतिक तस्बिर

बढ्दो गर्मीसँगै पानी पर्न थालेपछि ब्याक्टेरिया र भाइरसको सङ्क्रमण फैलिने जोखिम बढ्छ । त्यसैले यो बेला अरु सङ्क्रामक रोग जस्तै आँखासँग सम्बन्धित भाइरल रोग फैलिन सक्ने जोखिम पनि बढेको छ। अस्पतालहरुमा पनि आँखाको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको छ ।

गर्मीयाममा आँखामा देखिने समस्या 

आँखामा किटाणुको सङ्क्रमण भयो भने आँखा रातो हुने, बिहान उठ्दा चिप्राले आँखा टम्म टालिने, आँखा पाक्ने, पोल्ने, बिझाउने, सुन्निने, बर्बरी आँसु आउने, पिरो हुने, दुख्ने लगायतका समस्या देखिन सक्छन् । आँखाको नानीमा समेत सङ्क्रमण भयो भने उज्यालोमा आँखा खोल्न गाह्रो हुने, आँखा चिम्लिन मन लाग्ने लगायतका लक्षण पनि देखिन्छन् । 

कसरी सर्छ ?

सङ्क्रमणका कारण आँखामा देखिने यस्ता रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । बेलैमा सावधानी नअपनाए अझै फैलिन सक्ने सम्भावना रहन्छ । यस्ता रोग घरबाहिर हिँड्डुल गर्ने, भिडभाडमा जानेहरुलाई चाँडै सर्न सक्छ ।

कुनै पनि सङ्क्रमित व्यक्तिको आँखाबाट निस्केको तरल, आँसु वा चिप्रा कुनै स्वस्थ व्यक्तिले छुँदा वा सङ्क्रमितको सम्पर्कमा आउँदा सङ्क्रमण सर्न सक्छ । सङ्क्रमित व्यक्तिले छोएको वा सङ्क्रमित सतह छुँदा पनि सङ्क्रमण सर्न सक्छ ।

सङ्क्रमित व्यक्तिको चश्मा, रुमाल, तन्ना, सिरानी लगायत अरु कपडा प्रयोग गर्दा वा छुँदा पनि सङ्क्रमण फैलिन सक्छ । तर, सङ्क्रमित व्यक्तिको आँखामा अर्को स्वस्थ व्यक्तिले हेर्दैमा यो रोग सर्दैन ।

के नगर्ने ?

आँखा रातो हुने, पाक्ने, चिप्रा आउने, बिझाउने, पोल्ने लगायतका लक्षण देखिने बित्तिकै आँखामा सङ्क्रमण लागेको हो या होइन भन्ने कुरा अस्पताल नगइ थाहा हुँदैन । कस्तो समस्या हो भन्ने कुरा बिरामी आफैँले पनि थाहा पाउन सक्दैनन् । त्यसैले आँखामा समस्या देखिए डाक्टरको सल्लाहविना आफैँ औषधि किनेर प्रयोग गर्दा आँखामा थप सङ्क्रमण भइ अन्धोपन समेत हुन सक्छ । आँखामा कुनै लक्षण देखिए औषधि पसलबाट इस्टेरोइड किनेर सिधै आँखामा प्रयोग गर्नु हुँदैन । यसले आँखाको नानीमा असर गर्छ र घाउ बनाउन सक्छ । पछि अल्सर भएर आँखाको दृष्टि नै गुम्न सक्छ ।

गाउँघरमा गाई भैसीँ, बाख्रा वा आमाको दूध आँखामा हाल्ने गरेको सुनिन्छ । कोहीले त रुखको चोप हाल्ने, पानीको बाफले आँखा सेक्ने, आँखालाई कष्ट हुने गरि मिच्ने, पटक पटक आँखामा पानी छ्यापने गर्छन् । यस्तो गर्नु ठिक होइन । 

के गर्ने ?

आँखालाई अप्ठेरो भएको महसुस भए एक, दुई दिन घरमै आराम गर्ने । बिरामीले प्रयोग गरेको रुमाल, कपडा, तन्ना, सिरानी लगायतकका सामग्री अरुले नछुने । आँखालाई सहज गराउन कालो चश्मा लगाएर हिँड्ने । तर आँखालाई असहज भयो भने तुरुन्तै आँखा उपचार केन्द्र वा आँखा अस्पतालमा उपचार गराउनु पर्छ । सकेसम्म डाक्टरको सल्लाहअनुसारको औषधि प्रयोग गर्नुपर्छ ।

कसरी जोगिने ?

सधैँ सफा पानीले मुख धुने । गर्मीमा घाम, धुवाँ, धुलोबाट जोगिने । आँखा सुक्खा हुन नदिन प्रशस्त पानी पिउने, झोलिलो खाने कुरा खाने । दिउँसोको घाममा कालो चस्माको प्रयोग गर्ने ।

(डाक्टर इन्दु प्रसाद ढुंगेलसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. इन्दुप्रसाद ढुङ्गेल

डा. ढुङ्गेल नेपाल आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ हुनुहुन्छ । 

1 Comments

  • Bhupendra Pun

    June 29, 2023, 9:52 a.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया