लगातार पहिरो खसिरहेकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ, वैकल्पिक बाटोकाे प्रयोग गर्न आग्रह

 असार १५, २०८० शुक्रबार ८:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लगातार पहिरो खसिरहेकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ भएको छ । हिजो दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ । तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन ।

पानी परिरहे आज दिनभरि नै यो सडकमा समस्या हुन सक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । हिजो दिउँसोदेखि नै अवरुद्ध भएकाले यो सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् ।

यस्तै, नारायणगढबाट काठमाण्डाै, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया