धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
डोटी – छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि डोटीका किसान सामूहिक रुपमा किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
डोटीको जोरायल गाउँपालिका क्षेत्रका किसानहरु अहिले किबी खेतीतर्फ आकर्षित भएका छन् । महँगो मूल्यमा किवी बिक्री हुने भएकाले डोटीको जोरायल गाउँपालिका ५ गडसेराका किसानहरु बाँजो बनेको जग्गाको सदुपयोग गर्दै किवी खेतीमा लागि परेका छन् ।
किवीको बजारमा प्रतिकिलो १ हजार रुपैयाँसम्म पर्ने र एक पटक लगाएपछि ७० देखि ८० वर्षसम्म फल दिने भएकाले यसलाई कृषकहरूले आम्दानीको मुख्य श्रोत बनाउने पनि तयारी गरेको जोरायल गाउँपालिका ५ गड्सेराका किवी खेतीका कृषक लिलाधर बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अति स्वादिलो हुने भएकाले सुपरमार्केटदेखि तारे होटलसम्म यसलाई बिक्री गर्न सकिने हुँदा गड्सेरामा किबी खेती सुरु गरेका हौं ।’
चार वर्ष अगाडि झण्डै एक सय बोट किवी लगाएर व्यावसायिक खेती सुरुवात गरिएकोमा २ वर्ष अगाडिदेखि नै किवीले फल दिन सुरु गरिसकेको उहाँले बताउनुभयो । चार वर्ष अगाडि किवी खेती सुरु गरेका किसानहरुको समूहले अब २, ३ सय रोपनीमा किवी खेती बिस्तार गर्ने तयारी गरिरहेका छन् ।
गड्सेरामा किबी फलेपछि अन्य किसानहरु पनि व्यावसायिक किवी खेती गर्न आकर्षित भएको अर्का स्थानीय प्रकाशबहादुर रावलले बताउनुभयो । गड्सेरा र वरपरका क्षेत्रमा सुरुसुरुमा किवी खेती गर्दा गाउँकाले मात्र होइन, धेरै कृषि सम्बन्धीका जानकारले पनि किवी खेतीको सम्भाव्यताको विषयमा प्रश्न खडा गरेका थिए ।
माटो परीक्षणमा गड्सेरा क्षेत्र किवीका लागि उपयुक्त ठहर भएको जिल्ला कृषि विकास कार्यालय डोटीका कृषि प्राविधिक मनोज खड्काले बताउनुभयो । फलबाहेक किवीको जाम, जुस, जेली, वाइन र कस्मेटिक सामग्री बनाउन सकिने भएकाले यो खेती अति उपयोगी भएको उहाँको भनाई छ ।
एउटै रुखमा ५० देखि ७० किलोसम्म फल लाग्ने गरेको किसानहरु बताउछन् । स्थानीय सरकारले पनि किबी खेतीमा किसानहरुलाई प्रोत्साहन गरिरहेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बाँझो जमिन सदुपयोग पनि हुने र किसानलाई आम्दानी पनि हुने भएकाले किबी खेतीलाई हामीले प्रोत्सान दिएका छौं ।’ समुद्री सतहबाट ८ सयदेखि २ हजार मिटर उचाइको पहाडी क्षेत्रमा किबी खेती गर्न सकिने कृषि प्राविधिकहरु बताउछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।