कांग्रेसलाई नागरिकले भ्रष्टाचारको संरक्षकको रूपमा चिनेका छन् : नेता केसी

 असार १५, २०८० शुक्रबार १८:४४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस पार्टीलाई नागरिकले भ्रष्टाचारको संरक्षकका रूपमा चिनेका बताउनुभएको छ ।

शुक्रवार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले कांग्रेसलाई नागरिकले भ्रष्टाचारको संरक्षकको रूपमा चिनेका बताउनुभएको हो । उहाँले कांग्रेसलाई नागरिकले विकृति र मनपरीतन्त्रको संवाहकको रूपमा पनि चिनेका बताउनुभयो । नागरिक निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रूपमा नागरिकले चिनेका छन् । भ्रष्टाचारको संरक्षकको रूपमा नागरिकले चिनेका छन् । विकृति र मनपरीतन्त्रको संवाहककाे रूपमा हामीलाई चिनेका छन् । त्यसले गर्दा नागरिकमा निराशाको स्थिति र अरू के विकल्प छ भनेर खोजिरहेका छन् । नागरिक विकल्प खोज्छन् । कसैलाई कुरेर बस्दैनन् ।’

नेता केसीले कांग्रेसभित्र वैचारिक पुनर्जागरणको नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आफूहरूले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश नागरिकलाई दिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कांग्रेसभित्र वैचारिक पुनर्जागरणको एउटा नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता छ । पार्टीभित्र आएका चुनौती, पार्टीभित्र लागेका दोषारोपणहरू, यो समग्र रूपबाट एक ठाउँमा उभिएर नयाँ विचार र दृष्टिकोणसहित हामी अब सुध्रियौँ है भनेर नेपाली नागरिकलाई भन्ने र अब हामी गल्ती गर्दैनौँ भनेर त्यो ढङ्गले जान सकेनौँ भने लोकतन्त्रलाई चुनौती छ । पार्टीलाई पनि चुनौती छ ।’

केसीले राष्ट्र र लोकतन्त्रलाई गति दिनका निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताउनुभयो । सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिँड्न पत्रकारलाई उहाँले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया