प्रधानमन्त्रीकाे राजीनामा माग्दै संसद् बैठकमा अवराेध, मिटरब्याजविरुद्धकाे अध्यादेश निष्क्रिय

 असार २०, २०८० बुधबार १९:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेसहितका प्रतिपक्षी दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सङ्घीय संसद्का दुवै बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएकाे छ ।

भारतीय नागरिक प्रीतम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्लीसमेत धाएको अभिव्यक्ति दिनुभएको थियो । त्यही अभिव्यक्तिलाई लिएर आज बुधवार संसद् बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले नेपालीको भावनामा आघात पुगेको बताउनुभएकाे थियाे । उहाँले नेपालको प्रधानमन्त्री बन्न नेपाली नागरिकतिर जाने हो की दिल्ली जाने हो भनेर प्रश्न गर्नुभयो ।

विपक्षी दलका सांसदले विरोध जारी राखेपछि सभामुख घिमिरले आधा घन्टाका लागि बैठक स्थगित गर्नुभएको थियाे । तर दलहरूबीच सहमति नभएपछि आजको बैठक नै भोलिसम्मका लागि स्थगित भएको हाे । 

यसअघि आजै राष्ट्रिय सभामा पनि एमालेका सांसदहरूले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै विरोध जनाएपछि बैठक स्थगित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

यसैबीच राष्ट्रियसभामा एमालेका सांसदहरूको अवरोधका कारण मिटरब्याजीहरूलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी परिभाषा गरी त्यसलाई दण्डनीय हुने गरी व्यवस्था गर्न मौजुदा कानुनमा संशोधन गर्दै ६० दिनअघि अध्यादेश जारी गरेको थियो । ६० दिनभित्र अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित हुन नसके स्वतः निष्क्रिय हुने व्यवस्थाअनुसार आज अध्यादेश निष्क्रिय भएको हो ।

अध्यादेश निष्क्रिय भएसँगै मिटरब्याज पीडितले न्याय पाउने सम्भावना फेरि टरेको छ । सरकारले यही अध्यादेशमा भएका प्रावधानमा आधारित रहेर पीडितका उजुरी सङ्कलन गरेर दोषीलाई कडा कारबाहीको तयारी गरेकोमा फेरि कानुनी अड्चन देखिने भएको छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्र सम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै उहाँले एमालेले अहिले आफ्नो अभिव्यक्तिलाई कारण देखाए पनि मिटरब्याजीहरूलाई जोगाउनका लागि संसद् अवरोध गरेको आरोप लगाउनुभयो । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा एमालेलाई मन नपरेको र कारबाही रोक्न संसदमा अवराेध गरेकाे उहाँले जिकिर गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भरत परियार रुकुम पश्चिम्

    July 6, 2023, 8:04 a.m.

    महिले यो भन्दा 3 4 बर्ष पहिला कसैबाट 50000 कसैबाट 100000 कसैबाट अनि कसैबाट 60000 यस्तै गरि 3000 कसैबाट 20000 गरि ऋण लिएर घर बनाय तर बिडमबना त्यो ऋण तिर्न भनी महिले मलेशिया को भिसा लगाए अनि कोरोना को करन्ले म कतै जान सकिन पेट पाल्न गारो भको मलाई म छट्पटी रहे अनि महिले ऋण दिन सकिन 100000 लिएको ठाउमा 500000 भयो भन्दै मलाइ धम्की आउँछ म अहिले साउदी मा छु मेरो तलब 3000 हुन्छ महिले कसरी ऋण तिर्ने 1 को 5 च रे ब्याज को ब्याज लाक्छ भन्छन गाउमा एउटा् सानो घर छ जमिन के छैन महिले कसरी 10 12 लाख तिर्ने

  •  0 Reply

तपाईको प्रतिक्रिया