संसद् तीन जना नेताकाे मात्रै हाेइन : सभापति लामिछाने

 असार २४, २०८० आइतबार १८:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलहरूले आफ्नो 'सिन्डिकेट' बनाउन खोजेको बताउनुभएको छ ।

आइतवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले संसद्लाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको हो । उहाँले तीन राजनीतिक दलहरूका बीचमा सल्लाह मिल्दा संसद् चल्ने र सल्लाह नमिल्दा संसद् नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सदन तीन जना नेताको मात्रै होइन । सदन प्रतिपक्षको हो अझ बढी । सार्वभौम नागरिकले चुनेर पठाएका जनप्रतिनिधिले नागरिकका कैयाैँ सवालमा कुराकानी गर्नुपर्नेछ । उहाँहरूको सल्लाह मिल्यो भने संसद् चल्ने भयो, नमिल्दा संसद् नचल्ने भयो । प्रमुख तीन दलले संसद्लाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो । जनप्रतिनिधिहरू संसदमा आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन् । सरकारले बिजनेस नै दिन सकिरहेको छैन । सरसल्लाहमा बसेर अनुमति लिएरमात्रै गर्ने भन्ने ? जे मुद्दा छ संसदमा लिएर आउने हाे । संसदमा कुरा गरौँ ।’

सभापित लामिछानेले आफूहरू मिटरब्याज पीडितहरूको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताउनुभयो । आफूहरू मिटरब्याज पीडितका लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उहाँले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताउनुभयो । आफूहरू संसद् चल्नुपर्ने र प्रधानमन्त्रीले संसदबाट जवाफ दिनुपर्ने पक्षमा रहेको उहाँकाे भनाइ छ ।

लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरूले बोलेपछि सभामुखले आफूहरूलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको उल्लेख गर्नुभयाे । उहाँले रास्वपाको आफ्नै अडान र मुद्दाहरू रहेको उल्लेख गर्दै त्यसमा आफूहरू अडिग रहेको बताउनुभयो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया