निगमको 'ग्राउन्डेड' दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा

 साउन १, २०८० सोमबार २०:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एउटा जहाज मर्मतपछि आज साेमवार बेलुकीदेखि नियमित उडानमा आउने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार एन–एकेडब्ल्यू जहाज मर्मतपछि नियमित उडानमा जाने भएको हो । याे जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । अर्को न्यारोबडी एन–एकेएक्स जहाजको पनि बायाँ इन्जिनमा समस्या देखिएको छ ।

जहाजमा चरा ठोकिँदा इन्जिनमा आएको खराबीका कारण निगमको दुवै न्यारोबडी जहाज ग्राउन्डेड भएका थिए । ‘निगमका जहाज नियमित मर्मत र इन्स्पेक्शन गर्ने क्रममा जहाजको दायाँ इन्जिनमा समस्या देखिएकाले मर्मत भइसकेको र त्याे जहाज मर्मतपछि आज बेलुकीसम्म नियमित उडानमा पठाउनेछौँ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी अर्को जहाजको नियमित इन्सपेक्शन गर्दा बायाँ इन्जिनकाे 'हाई प्रेसर टर्विन ट्रेलिङ एज' मा समस्या देखिएकाले 'एप्रुभ मेनुअल' र निर्माता कम्पनीको सुझावअनुसार १० साइकलमात्र उडान गर्न सकिने भएकाले त्याे जहाज ग्राउन्डडेड गरिएको र चाँडै इन्जिन मर्मत गराउने प्रक्रिया अघि बढाउने निगमले उल्लेख गरेको छ ।

अहिले देखिएको समस्याका बाबजुद यो जहाजले १० साइकल उडान भने गर्नसक्ने क्षमता थियो । त्यसमध्ये छ साइकल उडानपछि इन्जिनको मर्मतमा जाने उडान (चार साइकल) बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जनाएको छ ।

नियमित मर्मत हुँदा पनि निगमसँग भएका दुई वटा न्यारोबडी ए ३२० जहाजमा एकै समयमा चरा ठोकिएका कारण इन्जिनमा प्राविधिक समस्या आई ग्राउन्डेड भएकाले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडान सञ्चालन राखिएको निगमका प्रवक्ता पौडेलले बताउनुभयो । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० गरी चार वटा जहाज छन् ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया