हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द

 माघ ३, २०८१ बिहीबार १२:५८:६ | रासस
unn.prixa.net

मकवानपुर – हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्याेलमा परेको छ ।

उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गएको असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मत गरी गएको मङ्सिरको पहिलो हप्ताबाटै उत्पादन शुरू गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन शुरू गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

उत्पादन शुरू हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो तर त्यो मात्रैले पनि उत्पादन रोकिएको होइन भन्दै उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन शुरू गर्ने भन्ने अन्याेल बढेको बताउनुभयो ।

उत्पादन ठप्प भए पनि कर्मचारीको तलब भत्ता, केही इन्धन खर्च र समान्य मर्मत खर्चलगायतका नियमित खर्च भइरहकाले आर्थिक समस्या बढ्दै गएको उहाँको भनाइ छ ।

उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताउनुभयो । उहाँका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ ।

विं.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विं.सं. २०४३ देखि सिमेन्ट उत्पादन शुरू गरेको थियो । अहिले उपकरणहरू पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया