लेखा परीक्षण प्रतिवेदन नबुझाउने दललाई आयाेगले जरिबाना ताेक्याे

 साउन १, २०८० सोमबार १९:५१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने विभिन्न राजनीतिक दलहरूलाई जरिबानासहित कारबाही गर्ने भएको छ । आयोगले नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नेपाल सुशासन पार्टीलाई जरिबाना तोकेको हो ।

त्यस्तै आयाेगले समयमा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्न भन्दै नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरूलाई सचेत गराएको छ ।

आज साेमवारको बैठकले ३९ वटा दललाई जनही सात हजार रुपैयाँ जरिबाना गर्दै सात दिनभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेर पेस गर्न निर्देशन दिएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ । अहिलेसम्म ८२ वटा दलले खर्चको आय–व्यय निर्धारित समयभित्रै पेस गरेका छन् । त्यसैगरी १२ वटा राजनीतिक दलले तोकिएको समयसीमाभन्दा ढिलो गरी लेखा परीक्षण प्रतिवेदन पेस गरेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ र २०७९/८० को लेखा परीक्षण पेस नगर्ने मुस्कान सेना नेपाल र शिव सेना नेपाललाई जनही १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय भएकाे छ । त्यसैगरी दुई वटा आर्थिक वर्षमा लेखा परीक्षण पेस नगर्ने दललाई स्पष्टीकरण सोध्दा त्यसको जवाफ समयभित्र नदिने दललाई जनही २० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ ।

यसैगरी गएको वर्षको लेखा परीक्षण पेस नगर्ने १६ वटा राजनीतिक दललाई स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नदिने पार्टीलाई १० हजार रुपैयाँ जरिबाना गर्ने आयोगले जनाएको छ । आयोगले तोकेको जरिबानाबापतको रकम ३५ दिनभित्र दाखिला गर्न निर्देशन दिएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया