फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश

 साउन २, २०८० मंगलबार ८:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । फोहर बोकेर बञ्चरेडाँडा जाने ठूला गाडीलाई १ हजार ५ सय र साना गाडीलाई एक हजार रुपैयाँ लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय विरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

फोहर बोकेका गाडीलाई १५ सय रुपैयाँसम्म लिने गाउँपालिकाको निर्णय विरुद्ध फोहरमैला व्यवस्थापन सङ्घले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले हिजो यस्तो आदेश दिएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

सङ्घले ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ अस्ति रिट दर्ता गरेको थियो । तर, नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीय बासिन्दाले भने आफ्ना माग सम्बोधन नभएसम्म फोहर लैजान नदिने अडान राखेका छन् । आज पनि काठमाण्डौबाट फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइट जान सकेका छैनन् । हिजो फोहर बोकेर गाडी बीच बाटोबाटै फर्किएका थिए ।  

आज फोहर बोकेका कुनै पनि गाडी नगएको नुवाकोटको ककनी गाउँपालिका–३ का वडाअध्यक्ष घननाथ बजगाईँले जानकारी दिनुभयो । बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ । फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् ।

बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

गएको जेठ २६ गते शहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रभावित बासिन्दाको माग रहेको छ ।

स्थानीयबासिन्दाको मागअनुसार त्यस क्षेत्रको वातावरणीय अध्ययनको काम शुरु भएको र छलफल भैरहेको काठमाण्डौ महानगरका सहप्रवक्ता दिपक अधिकारीले बताउनुभएको छ । अहिले शनिवारबाहेक दैनिक एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बञ्चरेडाँडामा पुग्ने गरेको छ । शनिवार भने एक सय ५० वटासम्म ट्रक फोहर बोकेर बञ्चरेडाँडा पुग्ने गरेका छन् ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramesh man shakya

    July 19, 2023, 9:06 a.m.

    यो अरू केही होइन बालःनलाई फेल गर्ने रणनिति मातूर हो।तर नुवाकोटको जनताले पनि यो कुरा बुझ्नु पर्ने हो आखिर काठमाडौ फोहर भएर यहाॅको जनता बिरामी हुनु भनेको देशै भरीका जनताको आफन्तै हो भनेर बुझ्नु पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया