सात सय ५३ मध्ये ३२ वटा पालिकाले अझै बजेट पारित गर्न सकेनन्

 साउन ३, २०८० बुधबार ८:९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– सात सय ५३ पालिकामध्ये अझै पनि ३२ वटा पालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट पारित गर्न सकेका छैनन् ।

पालिकाले असार १० भित्रै गाउँ–नगरसभामा पेस गरेर असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, यो व्यवस्थालाई बेवास्ता गरेर ३२ वटा पालिकाले बजेट ल्याउन नसकेका हुन् । 

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र नगर सभाबाट बजेट पारित नगर्ने २२ गाउँपालिका र १० नगरपालिका रहेको जनाएको छ ।

मधेशका आठ र गण्डकीका दुई गरी १० नगरपालिका तथा मधेशका १५, गण्डकी र लुम्बिनीका दुई/दुई, बाग्मती, कर्णाली र कोशीको एक/एक गाउँपालिकाले बजेट नल्याएका हुन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी  निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलका अनुसार कतिपय पालिकामा प्रमुख र उपप्रमुख अस्वस्थ रहेको केहीमा प्रमुख र उपप्रमुखबीच विवाद, प्रमुख प्रशासकीय अधिकृतको अभावलगायतले सभामा बजेट पारित हुन नसकेको बताउनुभयो ।

संघ, प्रदेश र पालिकाले पारित गरेको बजेट नयाँ आर्थिक वर्ष साउन १ देखि लागू हुन्छ ।

बजेट पारित गर्न नसकेका पालिका अहिले बजेटविहीन छन् । संघीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र पालिकाले असार १० मा नीति, कार्यक्रम र बजेट गाउँ तथा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

गाउँ तथा नगरसभामा प्रस्तुत बजेट असार मसान्तसम्म पारित हुनुपर्छ । अनि साउन १ देखि लागू हुन्छ।

पालिकाले समयमै बजेट पारित नगरेर कानुनको उल्लंघन गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया