सर्वोच्चको आदेशपछि फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित, स्थानीयबासिन्दाको आन्दोलन भने कायमै

 साउन ३, २०८० बुधबार ८:२५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरेको छ ।

सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गर्ने भन्दै गाउँपालिकाले  काठमाण्डौबाट बञ्चरेडाँडा जाने फोहोरका गाडीसँग प्रवेश शुल्क नउठाउने निर्णय गरेको हो ।

फोहोर बोकेका ट्रकबाट प्रवेश शुल्क उठाउने निर्णयविरूद्ध ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ हालेको रिटमा सोमवार न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश दिएको थियो।

ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरे पनि आन्दोलन भने चलिरहेको छ ।

आन्दोलनका कारण काठमाण्डौ उपत्यकाको फोहोर बोकेका गाडी दुई दिनदेखि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेका छैनन् ।

फोहोरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका हुन् ।

बञ्चरेडाँडाको फोहोरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण, प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका उनीहरुको माग छ ।

माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने स्थानीयबासिन्दाले बताएका छन् ।

यसैबीच, सरकारले आज आन्दोलनमा रहेकाहरुसँग छलफल गर्ने तयारी गरेको छ । समय भने तय हुन बाँकी छ ।

बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहोर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया