बाँदरले अन्नबालीमा क्षति पुर्याए किसानले राहत पाउने, व्यक्तिलाई घाइते बनाए दुई लाख रुपैयाँसम्म दिइने

 साउन ९, २०८० मंगलबार ९:३७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले बाँदरबाट भएको क्षतिमा पनि किसानलाई राहत दिने भएको छ । यसअघि अरु विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरबाट भएको क्षतिमा पनि राहत दिन थालेको हो ।

वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा  बाँदरबाट हुने क्षतिमा पनि क्षतिपूर्ति दिने उल्लेख छ । सरकारले यसअघि हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिङ्गर गरेर १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत दिने गर्थ्याे ।

नयाँ निर्देशिकामा बाँदर र नीलगाईका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने व्यवस्था गरिएको हो । किसानबाट आइरहेको गुनासो र सर्वोच्च अदालतको आदेश समेतलाई ध्यान दिएर बाँदरबाट हुने क्षतिमा क्षतिपूर्ति दिने व्यवस्था शुरु गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता अजय कार्कीले जानकारी दिनुभयो । अब बाँदरबाट खेतीबालीमा भएको क्षतिमा किसानले १० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन् ।

भण्डारण गरेको अन्नमा भएको क्षतिमा भने क्षतिपूर्ति पाइँदैन । यस्तै, बाँदरले व्यक्तिलाई घाइते बनाएमा अरु जनावरबाट भएको आक्रमणमा जस्तै उपचारका लागि दुई लाख रुपैयाँसम्म र ज्यान गएमा १० लाख रुपैयाँ राहत रकम दिने निर्देशिकामा उल्लेख छ ।

नेपालको मध्यपहाडका धेरै ठाउँमा बाँदरका कारण मानिसहरु हैरान बनेका छन् । पीडित किसानले क्षतिपूर्ति तथा राहतका लागि सम्बन्धित पालिकाबाट प्रक्रिया पूरा गरी वन कार्यालयहरुमा निवेदन दिनुपर्छ । किसानले निवेदन दिएको एक महिनाभित्र प्रक्रिया पूरा गरी राहत दिइसक्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Vesh raj paudel

    July 25, 2023, 7:50 p.m.

    तो समाचार सही हो भनै खुसीको खबर राहात बाडेर माञ भ एन !समाधान पनी हुनुपरो किनकी जथाभाबी रूखहरु बडाउनाले बस्थीलाई असर पारेको छ! अबेबस्थित तरिका बाट बनेको झाडी फडानी हुनुपरो!जंगलमा फडानी गर्ने आपनो बारीमा रूख पाल्ने लाई कारवाही हुनुपरो!

  •  0 Reply
  • Remal Khanal

    July 25, 2023, 3:44 p.m.

    यो कहिले देखि लागू गरिएको र किसान ले

  •  0 Reply

तपाईको प्रतिक्रिया