४ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

 साउन २४, २०८० बुधबार १८:२४:४८ | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराेका कारण गएकाे आइतवार बिहानदेखि अवरुद्ध भएको सडक आज बुधवार दिउँसोदेखि सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा गाडी सञ्चालन गरिएको जानकारी दिनुभयो । आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको टोली पहिरो पन्छाउने काममा परिचालन भएका थिए ।

सडक अवरुद्ध हुँदा मुस्ताङबाट आएका गाडी बैसरी र म्याग्दीबाट मुस्ताङतर्फ हिँडेका गाडी राहुपारे खण्डमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

मुस्ताङ जान र फर्किएका तीर्थयात्री, पर्यटक र स्थानीयवासी सडक अवरुद्ध हुँदा अलपत्र परेका थिए । बैसरीको अधेरीखोला खण्डमा सडकमाथिको पाखोबाट निरन्तर पहिरो खस्दा गाडी र यात्रुलाई चोटपटक लाग्ने र दुर्घटना हुने जोखिम छ ।

गएकाे वर्षदेखि शुरु भएको पहिरो विस्तार हुने क्रम जारी छ । भूमिगत पानीका कारण सडकमाथिको पाखो बगेर पहिरो खसेको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी–जोमसोम सडकको राहुघाटदेखि भुरुङ्ग तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न सूचनामार्फत अनुरोध गरेको छ ।

अन्तिम अपडेट: भदौ २५, २०८०

तपाईको प्रतिक्रिया