गमगढी–नाक्चेलाग्ना सडक : ७ वर्षमा १८ किलोमिटर, चीनसँग व्यापार गर्ने कर्णालीवासीको सपना अधुरै

 साउन २८, २०८० आइतबार १५:३७:३७ | रासस
unn.prixa.net

मुगु – उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ ।

आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालदेखि यो सडक निर्माण शुरु भएको थियो । गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक मात्रामा बजेट विनियोजन नहुँदा सडक निर्माण कछुवाको गतिमा अघि बढेको हो । मुगुको मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै 'लाइफ लाइन' का रूपमा रहेको यो सडक खण्ड ९६ किलोमिटरको छ । थोरै मात्रामा बजेट विनियोजित गर्दा वर्षाका समयमा खनिएको सडक माथिबाट आएको पहिरो पन्छाउन पनि अपुग हुने गरेको बताइएको छ ।

समयमै गमगढी नाक्चेलाग्ना सडक निर्माण हुन नसक्दा कर्णालीवासीको चीनसँग व्यापार गर्ने सपना अधुरै रहेको छ । नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगुमात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको छ ।

तत्कालीन जिल्ला विकास समिति मुगुका पूर्वसभापति डिल्ली भट्टका अनुसार आफ्नो कार्यकालमा मुगुवासीको मागअनुसार यस सडकलाई उत्तरी नाकामा रहेको देश चीनसँग जोड्नका लागि आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भेका लागि बोलपत्रमार्फत सर्भे गरेको थियो ।

त्यस बेला सर्भे गर्दा यो सडकको लागत अनुमान २५ करोड रुपैयाँ गरिएको थियो । देश सङ्घीय संरचनामा गइसकेपछि यो सडक सङ्घीय सरकारको मातहतमा राखियो । यसले गर्दा केही वर्ष सडक खन्ने काम अघि बढ्न सकेन । पुनः गमगढी–नाक्चेलाग्ना सडकको ढङ्गेधारासम्म ‘डीपीआर’ गरी विसं २०७३ देखि सडक डिभिजन कार्यालय जुम्लाले बोलपत्र आह्वान गरी सडक खन्ने कामलाई अघि बढाएको थियो ।

जिल्ला समन्वय समितिका निर्वतमान संयोजक पूर्णबहादुर रोकायाले भन्नुभयो, ‘गमगढी–नाक्चेलाग्ना सडक त्रिदेशीय अन्तर्राष्ट्रियस्तरको भएर पनि सङ्घीय सरकारले प्राथमिकतामा नराख्नु कर्णाली प्रदेशकै दुर्भाय हो । सदियौँदेखिको तिब्बतमा जडीबुटी, उन र नुनका साथै भेडा–च्याङ्ग्राको व्यापार विस्तार गर्ने कर्णालीवासीको सपना साँघुरिँदै गएको छ ।’

सडक डिभिजन कार्यालय जुम्लाबाट गमगढी–नाक्चेलाग्ना सडकका लागि खटिएका इन्जिनियर वीरबहादुर जिटीले सङ्घीय सरकारले यही तरिकाबाट बजेट छुट्याउने हो भने सडक कहिले निर्माण सम्पन्न हुने हो कुनै टुङ्गो छैन भन्नुभयो । सडकका लागि पर्याप्त मात्रामा बजेटको व्यवस्था गरेको खण्डमा निर्माण चाँडै सम्पन्न गर्न समस्या नरहेको उहाँले बताउनुभयो ।

गएको आर्थिक वर्ष २०७८/७९ मा चार करोड ९३ लाख रुपैयाँ सडक निर्माणमा खर्च भएको थियो भने आर्थिक वर्ष २०७९/८० मा चार करोड ४० लाख रुपैयाँ खर्च भएको बताइएको छ । उहाँले गमगढीबाट मुगूम् कार्मारोङ गाउँपालिका–९ नजिकै रहेको छाइल सुलसुले भिरसम्म साढे १८ किलोमिटर सडक निर्माण पूरा भएको जानकारी दिनुभयो । अहिलेसम्म सडक निर्माणका लागि झन्डै २० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अहिले सडक निर्माणको काम थोदुङ क्याराभान जेभी निर्माण कम्पनीले लिएको छ ।

गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवम् नागरिक अगुवा सन्तोषकुमार मल्लले भन्नुभयो, ‘गमगढी–नाक्चेलाग्ना सडक निर्माण सम्पन्न गर्न सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्छ । यसका लागि जिल्लाका जनप्रतिनिधिले आवाज उठान गर्नुपर्छ ।’

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया