सुदूरपश्चिममा स्क्रब टाइफस : दुई जनाको मृत्यु , ५० जनामा संक्रमण

 कात्तिक १४, २०७५ बुधबार ११:४४:२८ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – सुदूरपश्चिममा स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गैरहेको छ । स्क्रब टाइफसका कारण दुईजनाको ज्यान गएको छ ।  

डडेल्धुराको अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलंगाकी ९ वर्षीया बालिका गंगा पन्तको स्क्रब टाइफसको कारण ज्यान गएको छ । भट्टको उपचारका क्रममा धनगढीमा र पन्तको नेपालगञ्जमा मृत्यु भएको हो । 

उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेनडेण्ट डा. जितेन्द्र कँडेलका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पछिल्लो ४१ दिनको अवधिमा १ सय ३० जनालाई जाँच गर्दा ५० जनामा स्क्रब टाइफस रोगको संक्रमण देखा परेको छ । संक्रमित ५० जनाको अहिले उपक्षेत्रीय अस्पताल उपचार भइरहेको डा. कँडेलले जानकारी दिनुभयो । 

रोगको संक्रमण बढ्दै जान थाले पछि अहिले उपक्षेत्रीय अस्पतालमा बिरामीको चापसमेत बढेको छ । डडेल्धुरालगायत बैतडी, डोटी र बझाङमासमेत यस रोगको संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

जिल्लाको अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिकासँगै बैतडी, डोटी र बझाङबाट पनि संक्रमण देखिएका बिरामीहरू उपक्षेत्रीय अस्पताल आउने गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । 

स्क्रब टाइफस रोग लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जिउमा रातो दाग देखा पर्ने, टाउको धेरै दुख्ने लक्षण देखा पर्ने हुन्छ ।

अहिले यो रोगका लक्षण सुदूरपश्चिममा बढी देखा परिरहेको र रोगको संक्रमण तीव्ररुपमा बढीरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ । 

रोगको समयमै उपचार नभएमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिन्छ र बिरामीको ज्यान जान सक्छ ।

सर्वप्रथम सन् १९३० मा यो रोग जापानमा देखा परेको थियो ।  तर अहिले नेपालका धेरै ठाउमा  देखा परिसकेका छ । ओरेन्सिया सुसुगमुसी नामक परजीवीको संक्रमणले स्क्रब टाइफस हुने गरेको छ । यसलाई एक प्रकारको ‘माइट’ जातिको सुक्ष्म किराले एक अर्कामा सार्ने गर्दछ ।

दोस्रो विश्वयुद्ध चल्दै गर्दा सेनाहरु जंगलको झाडी हुँदै हिँड्दा ‘माइट’ले टोकेको र टोक्ने क्रममा ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवि पनि शरीरमा छोडेकोले यो रोगको संक्रमण देखा परेको थियो ।  नेपालमा भने मुसाको कारण रोग सरेको हुन सक्ने अनुमान गरिएको छ ।  

कसरी बच्ने ?

यो रोगको उपचार गर्न रोगको पहिचान गरी उपचार गर्न सकिन्छ । औषधिको रूपमा एन्टिबायोटिक प्रयोग गर्नु पर्ने चिकित्सकको भनाई छ । यस्तै किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहन सके पनि यसबाट बच्न सकिन्छ ।

घरभित्र र वरपरको वातावरण सफा राख्ने, सकेसम्म घासबारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, घाँसबारी वा चौरमा बस्दा केही ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने गर्नु पर्दछ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया