चीन र दक्षिण एसियाबीच समृद्धि पुलको रूपमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्छ : अध्यक्ष ढकाल

 साउन ३१, २०८० बुधबार १९:६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

चीन – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीच समृद्धि पुलकाे रूपमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताउनुभएको छ ।

चीनको कुन्मिङमा आयोजित १६ औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नुपर्ने बताउनुभयाे । उहाँले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तर निर्भरतालाई थप बलियो बनाउनुपर्ने उल्लेख गर्नुभयो । साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीहरूलाई समाधान गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गर्नुभयो ।

विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरू कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सृजना गरेको महामारी र आपूर्ति शृङ्खलामा देखापरेका अवरोधहरूबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनुपर्ने पनि अध्यक्ष ढकालले बताउनुभयो ।

दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहे पनि कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा आर्थिक वृद्धि प्रभावित भएको उहाँकाे भनाइ थियो ।  

दक्षिण एसियाको जनसाङ्ख्यिक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुने अध्यक्ष ढकालको धारणा थियो । यसबाट दक्षिण एसियाली देशहरू र चीनबीचको अन्तरक्षेत्रीय लगानी प्रवाह र व्यापार बढाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक शृङ्खलाहरूकाे साझेदारी, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आईसीटी, जडीबुटी र औषधि उत्पादन लगायतका महत्त्वपूर्ण क्षेत्रहरूमा चीनको विशेषज्ञतालाई प्रविधि र लगानीको हस्तान्तरणबाट नेपालसहित दक्षिण एसियाले लाभ लिन सक्ने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

दक्षिण एसिया र चीनबीचको आर्थिक साझेदारी बढाउन उद्योग वाणिज्य महासङ्घको प्रतिबद्धता दोहोर्‍याउँदै ढकालले नेपालमा रहेका लगानी अवसरहरूको उपयोग गर्न लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । मध्यम वर्गीय जनसङ्ख्याको वृद्धि, बहुराष्ट्रिय कम्पनीहरूले गरेको उच्च नाफा र चीन तथा भारतका बजारसम्मको सहज पहुँचले लगानीकर्ताहरूका लागि नेपाल आकर्षक लगानी गन्तव्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो । 

ढकालले चीन–दक्षिण एसिया व्यापार मञ्चले चीन, दक्षिण एसिया र नेपालबीचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन, व्यावसायिक संस्था र सरकारी निकायहरूबीचको सम्बन्ध प्रगाढ बनाउन गतिशील माध्यमको रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया