आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – लगानी बोर्डले चार वटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज शुक्रवार बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो ।
बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा अहिलेसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
दाङको राजपुर गाउँपालिकामा दुई सय ४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय पनि बैठकले गरेको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा दुई सय ५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी कम्पनी लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ ।
बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । यसका साथै बोर्डको बैठकले रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियामा रहेकाे कम्पनीसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्रीले आउँदा दिनमा जलविद्युत् परियोजनाको लागत निर्धारण गर्दा 'ब्यांकेबल' हुने गरी थप अध्ययन/विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियालाई छोट्याउँदै छिटो छरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।