९ वर्षमा ३ हजार १ सय किलोमिटर प्रसारण लाइन थपियो

 भदौ १०, २०८० आइतबार १३:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको विद्युत् प्रसारण प्रणालीमा विगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ ।

लोडशेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको प्राधिकरणले प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विस्तार र सुधारलाई व्यापक रूपमा अगाडि बढाएको छ ।

प्राधिकरणले प्रसारण र आयोजना व्यवस्थापन निर्देशनालयमार्फत प्रसारण लाइन तथा सबस्टेशन आयोजनाहहरूको निर्माण गरिरहेको छ । विद्युत् गृहहरूबाट उत्पादित बिजुली ग्राहकको घरसम्म पुर्‍याउन प्रसारण तथा वितरण लाइन र सबस्टेशनहरुको आवश्यकता पर्दछ ।

विगत नौ वर्षमा ग्रिड सबस्टेशनहरूको क्षमता आठ हजार आठ सय ६७ एमभीए पुगेको छ । नौ वर्षअघि अर्थात् आर्थिक वर्ष (आव) २०७१/७२ मा सबस्टेशनहरूको क्षमता दुई हजार एक सय ३२ एमभीए रहेकोमा आव २०७९/८० मा आइपुग्दा सबस्टेशनहरूको क्षमता छ हजार सात सय ३५ एमभीए बढेको हो । आव २०७१/७२ मा ६६ र १३२ केभी बाट विद्युत् प्रसारण भइरहेकोमा अहिले ६६, १३२, २२० र ४०० केभी लाइनहरू सञ्चालनमा छन् ।

आव २०७१/७२ मा दुई हजार छ सय २४ सर्किट किलोमिटर प्रसारण लाइनमा रहेकोमा अहिले तीन हजार एक सय १८ सर्किट किलोमिटर थपिएर आव २०७९/८० मा पाँच हजार सात सय ४२ सर्किट किलोमिटर पुगेको छ ।

आव २०७२/७३ सम्म ६६ र १३२ केभी लाइन मात्र प्रसारण लाइन रहेकोमा आव २०७३/७४ देखि २२० र ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएका हुन् । अहिले प्रणालीमा ६६ र १३२ केभी प्रसारण लाइनको लम्बाइ क्रमशः पाँच सय १४ र तीन हजार नाै सय ७९ सर्किट किलोमिटर छ ।

यसैगरी २२० र ४०० केभी प्रसारण लाइनको लम्बाइ क्रमशः एक हजार एक सय एक र एक सय ४८ सर्किट किलोमिटर छ । आव २०७५/७६ मा सबैभन्दा बढी अर्थात् छ सय छ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ भने आव २०७४/७५ मा सबैभन्दा कम एक सय ४१ सर्किट किलोमिटर लाइन थपिएको छ । गएकाे आवमा चार सय १३ किलोमिटर सर्किट किलोमिटर प्रसारण लाइन प्रणालीमा थपिएको छ ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक कारणले समय–समयमा बिजुली गएको भन्ने उपभोक्ताहरूको गुनासोलाई सम्बोधन गर्न र पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बिजुली आपूर्तिका लागि विगतका वर्षहरूदेखि प्रणालीका पूर्वाधार संरचनाहरूको सुधार र सुदृढीकरणलाई योजनावद्ध रूपमा अगाडि बढाएर कार्यान्वयन लगिएको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका आयोजनाहरू निर्माणमा मुख्य रूपमा स्थानीयको अवरोध, जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानमा समस्याहरू रहेका र ती समस्याहरूलाई समाधान गर्दै आयोजनाहरूको काम भइरहेको उल्लेख गर्नुभयो ।

‘वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानको स्वीकृतिका लागि एकातर्फ लामो समय लाग्ने गरेको छ भने अर्कातर्फ ठूलो रकम सरकारकै अर्को निकायलाई क्षतिपूर्ति स्वरूप तिर्नुपर्ने अवस्था छ, यसले गर्दा आयोजनाको अवधि लम्बिने मात्र हैन हाम्रो उत्पादित बिजुलीकाे मूल्य महँगो हुँदै गइरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘आउँदाे १० वर्षलाई देश विकास दशक घोषणा गरी वर्तमान ऐन कानुन व्यापक संशाेधन वा प्रतिस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ, वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालु आवको बजेटमार्फत घोषणा गरिएका कार्यक्रमहरूलाई शीघ्र कार्यान्वयनमा लैजानुपर्छ ।’

सन् २०५० सम्मको बिजुली माग धान्ने गरी काठमाण्डाैलगायतका देशका प्रमुख शहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी प्रसारण तथा सबस्टेशन संरचनाहरूको गुरुयोजना तयार पारिएको उल्लेख गर्दै घिसिङले यसका लागि स्रोत जुटाई क्रमिक रूपमा निर्माण अगाडि बढाइने बताउनुभयो ।

साथै तराई/मधेशका दक्षिण क्षेत्रमा औद्योगिक तथा शहरी क्षेत्र विस्तारलाई ध्यान दिई हुलाकी राजमार्गको आसपासबाट ४००, २२० र १३२ केभी पूर्व–पश्चिम प्रसारण लाइन निर्माण कार्य प्रारम्भ गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्राधिकरणका अनुसार अहिले विभिन्न क्षमताका दुई हजार आठ सय ५२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । सबैभन्दा बढी १३२ केभीको एक हजार एक सय ११ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । त्यस्तै २२० र ४०० केभीको क्रमशः नाै सय ८८ र सात सय ५४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् ।

साथै छ हजार सात सय ५१ सर्किट किलोमिटर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ । १३२, २२० र ४०० केभीका क्रमशः एक हजार एक सय ४१, एक हजार सात सय ५२ र तीन हजार आठ सय ५८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको हो ।

विभिन्न क्षमताका १० हजार चार सय ६९ एमभीए क्षमताका सबस्टेशनहरू निर्माणाधीन छन् भने १५ हजार पाँच सय ६४ एमभीए क्षमताका सबस्टेशनहरू निर्माण प्रस्ताव गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया