मण्डनदेउपुर जीप दुर्घटना  : छानबिन गर्न मृतकका आफन्तको माग

 कात्तिक १५, २०७५ बिहिबार १३:५:२४ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – मण्डनदेउपुर नगरपालिका–६, भांगेटार ढकालथोकमा भएको जीप दुर्घटनामा परेर मृत्यु भएकाहरुको आफन्तले घटनाको छानबिन हुनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।  

सवारी दुर्घटनामा नेपाल प्रहरीका बहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारी, जिल्लाका क्रियाशील पत्रकार जीवन पराजुली र नेपाल ट्रेड यूनियन प्रदेश नं ३ का अध्यक्ष विनोद कार्कीको मृत्युमाथि छानबिन हुनुपर्ने भन्दै भण्डारीका भतिजा क्षितिज भण्डारी र पराजुलीका दाजु राजनप्रसाद पराजुलीले उजुरी गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिपक रायका अनुसार कात्तिक ११ गते भण्डारीका भतिजा क्षितिजले कानुन बमोजिम छानबिन गरी चालकलाई कारबाहीको माग गर्दै उजुरी गरेको बताउनुभयो ।

त्यस्तै पराजुलीका दाजु राजनप्रसादले कानुनबमोजिम आवश्यक कारबाहीको माग गर्नुभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कात्तिक १० गते दिउँसो बा ३ च २८७ नम्बर को जीप दुर्घटना हुँदा पराजुली र कार्कीको घटनास्थलमा नै र भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने एपीएफका पूर्व डिएसपी विनोद गौतम, धनराज पुरी र प्रदिप बोगटी घाइते भएका थिए । घाइतेमध्ये पुरीको डिस्चार्ज भइसकेको छ भने गौतमको ग्राण्डी अस्पताल र बोगटीको बी एण्ड बी अस्पतालमा उपचार भईरहेको छ । 

घटनाबारे छानबिन गर्न समिति

जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु र ३ घाइते भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले डीएसपी दिपक गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । मृतकका आफन्तको उजुरी एवं घटनास्थलको अनुगमनपछि जिल्ला प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो ।

प्रहरीकै बहालवाला डीआईजी, पत्रकार एवं ट्रेड युनियनका नेताको मृत्यु भएपछि डीएसपी गिरीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक राय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाई, दिनेश लामिछाने, पुस्कर खड्का र वासुदेव खड्का सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले काम शुरु गरिसकेको प्रहरी निरीक्षक रायले जानकारी दिनुभयो । 

एसएसपी, प्रजिअ र एसपी घटनास्थलमा

३ जनाको मृत्यु हुनेगरी भएको जीप दुर्घटनामा परि मृत्यु भएपछि संघीय प्रहरी इकाई जनागालका प्रमुख एसएसपी सौरभ राणा, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी रविराज खड्का, मण्डन देउपुरका प्रमुख टोकबहादुर वाइवा, पत्रकारलगायतको टोली घटनास्थल हेरेर फर्किएका छन् ।     

प्रहरीको व्यवसायीसँग मिलेर खानीमा लगानी

प्रहरी सेवाभित्र रहँदा मण्डन देउपुर घटनाले प्रहरीहरु खानीमा लगानी गरिरहेको पुष्टि गरेको छ । बहालवाला डीआईजी भण्डारी, एपीएफका पर्व डीएसपी विनोद गौतम व्यवसायीसँग मिलेर मण्डन देउपुरमा बालुवाको वासिङ मेशिनसहितको खानी चलाउने उदेश्यले त्यहाँ पुग्नुभएको थियो । व्यवसाय विस्तारकै लागि डीआईजी भण्डारी र गौतम व्यवसायी बोगटी स्थानीय धनराज पुरीलगायतको टोली मण्डनदेउपुर पुग्नुभएको थियो । मण्डनदेउपुर–६, मा पुरीको जग्गामा बालुवा खानी सञ्चालन गर्ने उनीहरूको तयारी थियो । 

एक महिनाको बिदा स्वीकृत गराएर नयाँ व्यवसायको ‘डिल’ फाइनल गरेर १२ गते विदेश जाने तयारीमा रहनुभएका भण्डारीसहित अन्य २ जनाको जीवन नै अन्त्य भयो । काभ्रेका विभिन्न क्रसर उद्योगमा भण्डारीको लगानीसमेत देखिएको छ । डीआईजी भण्डारीले आफन्तका नाममा बेथानचोक गाउँपालिकामा रहेको चलाल गणेश रोडाढुंगा उद्योगमा अप्रत्यक्ष लगानी गरेका थिए । 

भण्डारीसहित जनक लामा, रवीन्द्र केसी, मनोज सिग्देल, नजर कार्की, किरण कार्की, राजाराम कार्की, तुलसी पोखरेल, प्रेम कार्की, ध्रुव केसीसहितको साझेदारीमा सञ्चालन गरेको खुुलेको छ । उनी बाहेकका टोली विभिन्न देश घुमघाममा छन् । एक साझेदारले मासिक ८ देखि १० लाखसम्म नाफा गर्ने खानी र क्रसर दुवै रहेको उद्योगको अध्यक्ष मनोज सिग्देल हुनुहुन्छ । भण्डारी, विनोद थापा, सहदेव थापाको लगानीमा बेथानचोक गाउँपालिकास्थित चलाल गणेशस्थानमै खानी उत्खननको अनुमतिका लागि कम्पनी खुलेको छ । 

प्रहरी नियमावली २०७१ को धारा ९६ अनुसार प्रहरी अधिकारीले कुनै पनि व्यापार व्यवसायमा लगानी गर्न वा कम्पनी खडा गर्न पाइँदैन । त्यस्तै परिच्छेद ८ ले पनि कुनै नाफामूलक संस्थामा बस्ने वा नाफा हुने व्यापार  व्यवसायमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ । यसका बाबजुद धेरै उच्च प्रहरी अधिकारीले आफ्नै वा परिवारका नजिकका सदस्यको नाममा व्यापार–व्यवसायमा लगानी गरेका छन् । श्रोतका अनुसार काभ्रेमा भण्डारीजस्तै अन्य प्रहरी सेवामा रहेका व्यक्तिहरुको खानी तथा क्रसरहरुमा अवैध लगानी रहेको छ ।  

तस्बिर श्रोत : डीआईजी भण्डारीको श्रीमती प्रमिला भण्डारीको फेसबुक पेजबाट   
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया