प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

 असोज ७, २०८० आइतबार ८:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हाङझाउबाट राजधानी बेइजिङ जाँदै हुनुहुन्छ । उहाँ बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने र विमानस्थलबाट उहाँ बेइजिङको स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने कार्यक्रम छ ।

आज दिउँसो ४ बजे नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीसहित नेपालबाट गएका उद्योगी व्यवसायीको टोली पनि सहभागी हुनेछ । यो समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुनेछ । त्यसपछि प्रचण्ड बेइजिङमा रहेको नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

भोलि प्रधानमन्त्री प्रचण्डकाे समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता हुनेछ ।

हिजो प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जीनपिङबीच हाङझाउमा भेटवार्ता भएको थियो ।  प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो ।

नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रचण्डले चिनियाँ पक्षलाई आश्वस्त पार्नुभएको थियो । यो भेटवार्तापछि प्रचण्ड एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर न्युयाेर्कबाट हिजो बिहान चीन पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डसहितको टोली सेप्टेम्बर ३० तारिख अर्थात् आउँदो शनिवार नेपाल फर्कने कार्यक्रम छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया