नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न 'सीएनआई' र 'सीसीपीआईटी' बीच समझदारी

 असोज ७, २०८० आइतबार १७:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग परिसङ्घ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका अवसरमा सीएनआई र सीसीपीआईटीबीच आज आइतवार याे समझदारी भएको हो । समझदारी पत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गर्नुभयो । 

समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरूको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल–चीन दुवैका व्यावसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ । 

काउन्सिलले दुई देशबीच व्यावसायिक गतिविधिलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहलहरू सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यावसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवादलगायतका गतिविधि गर्नेछ ।

यी लक्ष्य प्राप्त गर्न परिसङ्घ र सीसीपीआईटीले काउन्सिलको गठनसहित सहकार्यको 'रोडम्याप' तयार पारेका छन् । नेपाल चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुई जना प्रतिनिधि हुनेछन् ।

परिसङ्घका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल चीनबीच व्यावसायिक सम्बन्ध अभिवृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल–चीन व्यावसायिक परिषद महत्त्वपूर्ण माध्यम बन्ने बताउनुभयो । उहाँले परिषद्ले देखिने गरी प्रभावकारी रूपमा काम गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । 

समझदारी हस्ताक्षर कार्यक्रममा परिसङ्घका तर्फबाट निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाण चौधरी, भीम घिमिरे लगायत सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया