पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो

 असोज १३, २०८० शनिबार १८:२६:५१ | रासस
unn.prixa.net

फाइल तस्बिर

दैलेख – पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्तर्गतको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए ।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत मुआब्जा वितरण प्रक्रिया अघि बढाएको थियो । भैरवी–१ रावतकोटका २७ घरलाई प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा दिने प्रक्रिया अघि बढाएपछि स्थानीयले विरोध जनाएका थिए ।

सर्वदलीय बैठक र मुआब्जा पाउने नागरिकसँगको छलफलपछि विवाद सुल्झिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताउनुभयो । ‘सरकारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँ मुआब्जा दिने निर्णय गरेको थियो,’ उहाँले भन्नुभयो, ‘प्रभावित क्षेत्रका नागरिक र सर्वदलीय बैठकपछि रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको मुआब्जा वितरण विवाद सुल्झिएको छ ।’

पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङ्गका लागि नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७९ माघ २३ निर्णयका आधारमा गत असार ३ गते मुआब्जा निर्धारण समितिले भैरवी गाउँपालिका–१ रावतकोटका २७ स्थानीयले मुआब्जा पाउने निर्णय भएको थियो।

यस्तै, पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङ्गको काम अघि बढाउन आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नतिको काम समेत अघि बढाएको छ । उपकरण कर्णाली राजमार्गबाट ल्याउन सकिने अवस्था नभएको भन्दै खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतबीच सडक स्तरोन्नतिको काम अघि बढाउने सहमति भएको थियो । तर सडक डिभिजन कार्यालय सुर्खेतले समयमै सडक स्तरोन्नति अघि नबढाउदा समस्या भएको खानी तथा भूगर्भ विभागले बताउँदै आएको छ ।

खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले ड्रिलिङ्गका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका घुम्तीहरु मिलाउने र सडक स्तरोन्नतिको काम अघि बढाउने सहमति भएको थियो ।

सडक स्तरोन्नतिका लागि अनुमानित लागत ४ करोड ३६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलले बताउनुभयो । सम्झौताअनुसार राजमार्ग स्तरोन्नतिको काम निर्माण कम्पनीले छ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भदौ अन्तिममा सम्झौता भएको पौडेलले बताउनुभयो ।

दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणको काम विसं २०७६ असोजदेखि शुरु गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि सम्पन्न गरिसकेको छ ।

सरकारले जग्गा अधिग्रहण जस्तै सडक स्तरोन्नतिलगायत गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेपछि चिनियाँ अन्वेषण टोली दैलेख आएर दोस्रो चरणमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलिङको काम थाल्ने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

यसअघि नेपालसँगको सम्झौता अनुसार चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक र जिओ केमिकल स्याम्पलिङ गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ ।

दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुंगेश्वरलगायतका क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया