भूकम्पपछि बझाङ, बैतडीलगायतका जिल्लामा पटक–पटक परकम्प, स्थानीयबासिन्दाले खुला चौरमै रात बिताए

 असोज १७, २०८० बुधबार ७:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बझाङ, बैतडीलगायतका जिल्लामा भूकम्पबाट प्रभावित पीडितले खुला चौरमा रात बिताएका छन् । पटक–पटक परकम्प गइरहेकाले स्थानीयबासिन्दा रातिदेखि घरबाहिरै खुला चौरमा बसेका हुन् । केही घरमा क्षति भएको र फेरि भूकम्प आउन सक्ने डरका कारण उनीहरु घरबाहिर बसेका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्प पीडितलाई विद्यालय तथा सार्वजनिक ठाउँ र खुला चौरमा राखिएको छ । उनीहरुलाई ४० वटा पाल वितरण गरी टेन्टमा राखिएको हो । उनीहरुको खाने र अस्थायी रुपमा बस्नका लागि स्थानीय पालिकाको समन्वयमा व्यवस्थापन भइरहेको छ । देशका अरु क्षेत्रमा पानी परे पनि बझाङमा पानी परेको छैन । पानी नपरेका कारण प्रतिकूल अवस्था नरहेको र खुलाचौरमा पनि व्यवस्थापन गर्न केही सहज भएको उहाँको भनाइ छ ।  

बझाङमा हिजो दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । यी भूकम्पपछि लगातार परकम्प गइरहेका छन् । भूकम्पमा परि बझाङमा १३ जना र बैतडीमा दुई जना घाइते भएका छन् ।

बझाङमा घाइते भएका १३ जनामध्ये २ जनाको उपचार भइरहेको अरु प्राथमिक उपचारपछि घर फर्किएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो ।

त्यस्तै, बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–११ की ४५ वर्षकी गुनदेवी धामी भूकम्पपछिको पहिरोमा बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको बझाङका प्रहरी प्रवक्ता दीपेश चौधरीले जानकारी दिनुभयो ।

बझाङको चैनपुर आसपास केन्द्र बनाएर गएको भूकम्पले बझाङसहित बाजुरा, बैतडी, डोटी, डडेलधुरा, दार्चुलालगायत जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ । घर, विद्यालय तथा अन्य भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

भूकम्पपछि जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरमा र छब्बिस पाथिभेरा गाउँपालिकाको जालेबगरमा गएको सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध छ । सडक खुलाउने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया