लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम एमालेले कहीँ कतै पनि हुन दिँदैन : ओली

 मंसिर २, २०८० शनिबार १७:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिनुभएको छ ।

दुर्गा प्रसाईको नेतृत्वमा यही मंसिर ७ गते काठमाण्डौमा हुन गइरहेको प्रर्दशनप्रति संकेत गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउनेहरुलाई एमालेले तह लगाउने समेत बताउनु भयो । पार्टीको जनसंगठन संयन्त्रले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाण्डौमा उतार्ने कामलाई जोडतोडकासाथ अघि बढाए पनि त्यसले काठमाण्डौमा फोहोर पार्ने बाहेक अरु कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरुले पनि मंसिर ७ गते युवा/विद्यार्थीको प्रदर्शन गर्न लागेको बताउनु भयो । उहाँले त्यस प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा/विद्यार्थीहरुलाई निर्देशन दिनुभयो । ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरुले त्यो प्रदर्शनीको आह्वान गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सात गते हामी अलिकति थोरै के देखाउन चाहन्छौँ भने देशको परिस्थिति अप्ठ्यारो छ । बिग्रँदो छ । त्यसलाई रोक्ने दिशामा नेकपा एमाले अगाडि बढ्छ अब । अर्को कुरा, अहिले भइरहेको बेथितिलाई, कुशासनलाई, भ्रष्टाचारलाई, तस्करीलाई यही कुरालाई चुपचाप हेरेर बसिरहन सक्दैनौँ । हामीले सरकारको हनिमुन डेज भन्छ– सय दिन । धेरै वटा दिनहरु हेर्‍यौँ, पर्खियौँ । सुझाव दियाैँ, पार्लियामेन्टमा बोल्यौँ । मैले विपक्षी दलको नेताको हैसियतले पार्लियामेन्टमा बोलेको छु । अरु ठाउँमा बोलेको छु । तर, सरकारले सप्रने खालको कुनै लक्षण देखाएको छैन ।’

उहाँले राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताउनु भयो । संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाइ थियो । ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानुपरेको भनि राष्ट्रपति पौडेललाई प्रश्न समेत गर्नुभयो।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति जाजरकोट किन जानु भएको ? कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नु भएको थियो । टेलिभिजन हेर्नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नु भएकै थियो । कति के भयो भन्नु सुन्नु भएकै थियो । त्यो भन्दा अगाडि नै खबर आईसकेको थियो–नेताहरुको भिडले, नेताहरुको चाकडीमा सेना, प्रहरी खटनुपर्दा त्यहाँ उद्धार गर्न पाइएन भन्ने आएकै थियो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरुको रुपमा काम गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया