पाठेघर खसेका महिलालाई उपचारका लागि नगरले अस्पतालसम्म पुर्‍यायो

 मंसिर २, २०८० शनिबार १९:५२:१ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरको समस्या भएका महिलालाई उपचारका लागि अस्पताल पुर्‍याएको छ । नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको ‘स्क्रीनिङ’का क्रममा पहिचान गरिएका पाठेघर खसेका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई उपचारका लागि अस्पताल लगिएको हो ।

शल्यक्रिया लगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिवार एउटा बस रिजर्भ गरेर बिरामी र उनीहरुका एक/एक जना कुरुवालाई शिरमेमोरियल अस्पताल बनेपा लगिएको छ । अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलव्ध गराउने गरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।  

पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको हो । पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा ७ जनाले अस्पताल जान अस्वीकार गरेको नगरपालिकाले जनाएको छ ।

आङ खसेका कारण दर्दनाक दिनचर्या बिताइरहेका महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिना यता वडा–वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ । पाठेघर खसेका महिलाको उपचारका लागि मेयर भट्टराई, उपमेयर बिसन राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्य लगायतको टोली सँगै गएका छन् ।

दोस्रो चरणमा मंसिर ५ गते पाठेघर खसेका बाँकी सबै बिरामीलाई निःशुल्क उपचारमा लैजाने तयारी गरिएको जनस्वास्थ्य निरीक्षक आचार्यले बताउनु भयो । हालसम्मको ‘स्क्रीनिङ’का क्रममा पहिचान गरिएका पाठेघर खसेका ६२ जनामध्ये ५३ जनाले उपचारमा जानका लागि नगरपालिकामा सम्पर्क गरेका थिए । पहिलो र दोस्रो तहको पाठेघर खसेका महिलाको शरीरमा भने स्वास्थ्यचौकीमै रिङ प्रेसरी राखिएको छ । पाठेघर खस्ने समस्यलाई महिलाले लाज र शरम मानेर लुकाउने गरेको पाइएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया