सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन : प्रदीप ज्ञवाली

 मंसिर ५, २०८० मंगलबार १७:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दामा आफ्नो पार्टीको राजनीतिक स्वार्थ नरहेको बताउनुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा आयाेजित एक कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमालेले पीडितलाई न्याय दिने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दा छिटोभन्दा छिटो टुङ्गोमा पुर्‍याउन चाहेको बताउनुभयो । उहाँले मानव अधिकारसम्बन्धी नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडितको सहमति र सर्वोच्च अदालतको आदेशको आधारमा याे मुद्दालाई टुङ्गो लगाउने काममा ढिलाइ गर्न नहुने उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दामा सबैभन्दा ठूलो कुरा पीडितले न्याय पायौँ भन्ने अनुभूति हुनुपर्छ । यो सङ्क्रमणकालीन न्याय चाहिएको पीडितलाई हो । मैले अस्ति प्रधानमन्त्री नै हुनु भएको कार्यक्रममा पनि भनेँ– सङ्क्रमणकालीन न्याय प्रचण्डलाई चाहिएको हो र ? उहाँ त यो विस्तृत शान्ति सम्झौतापछि तीन पटक प्रधानमन्त्री भइसक्नु भयो । शेरबहादुर देउवालाई चाहिएको हो र ? होइन नि । उहाँ त त्यसयता दुई चोटि प्रधानमन्त्री भइसक्नु भयो । एमाले त द्वन्द्वको पक्ष थिएन । हामीलाई एक छिन नराखौँ । सङ्क्रमणकालीन न्याय चाहिएको भनेको तपाईँहरूलाई हो । ती बेपत्ताका परिवारलाई चाहिएको हो । न सास छ, न लास छ । पीडितहरूलाई मागलाई ध्यानमा राखेर यो विषयलाई टुङ्ग्याउन जरुरी छ । यसमा हामी लागिरहेका छौँ । हाम्रो पार्टीको पूर्ण प्रतिबद्धता छ । यो विषयमा नेकपा एमालेको कुनै राजनीतिक स्वार्थ पनि छैन । यसमा कुनै सर्त पनि छैन ।’

ज्ञवालीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउँदा दण्डहीनता पनि हुन नहुने र फेरि देशमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभूति हुनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया