काठमाण्डाै महानगरले ४ महिनामा २ अर्ब रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गर्‍याे

 मंसिर १०, २०८० आइतबार १६:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाण्डाै महानगरपालिकाले लक्ष्यको २७ दशमलव ११ प्रतिशत राजस्व सङ्कलन गरेको छ । १० अर्ब ८० करोड ७८ लाख २० हजार वार्षिक लक्ष्यमा साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा दुई अर्ब ९२ करोड ९६ लाख नाै हजार सात स २९ रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो ।

गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा चार महिनामा दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार पाँच सय ६५ रुपैयाँ सङ्कलन भएको थियो ।  

शीर्षकगत रूपमा हेर्दा प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै एक सय ४७ प्रतिशत रकम सङ्कलन भएको छ । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएको थियो । 

एक अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख ९३ हजार पाँच सय ५४ रुपैयाँ (२७ दशमलव ९१ प्रतिशत) राजस्व सङ्कलन भएको छ । गएको वर्ष यस शीर्षकमा एक अर्ब रुपैयाँ लक्ष्य राखिएको थियो । पहिलो चौमासिकमा ५२ करोड ४७ लाख ८० हजार ८४ रुपैयाँ (५२ दशमलव ४८ प्रतिशत) राजस्व उठेको थियो । यस वर्ष दुई अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख ५१ हजार आठ सय ३७ रुपैयाँ (३० दशमलव ८० प्रतिशत) राजस्व सङ्कलन भएको छ । यही शीर्षकमा गएको वर्ष दुई अर्ब लक्ष्य राखिएको थियो । यस अवधिमा लक्ष्यको ३९ दशमलव १९ प्रतिशत अर्थात् ७८ करोड ३७ लाख पाँच हजार एक सय ५३ रुपैयाँ सङ्कलन भएको थियो । 

यस वर्ष एक अर्ब २० करोड लक्ष्य राखिएको घरजग्गा रजिस्ट्रेशन दस्तुरमा १० करोड ९२ लाख ५५ हजार नाै सय ९१ रुपैयाँ (नाै दशमलव १० प्रतिशत) राजस्व सङ्कलन भएको छ । यस शीर्षकमा गएको वर्ष दुई अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएको थियो । यस शीर्षकमा पहिलो चौमासिक अवधिमा ११ करोड ६८ लाख ३५ हजार चार सय ८६ रुपैयाँ (चार दशमलव ६७ प्रतिशत) राजस्व सङ्कलन भएको थियो । घरजग्गा रजिस्ट्रेशन दस्तुरको लक्ष्य चालु आर्थिक वर्षमा किन घटाइयो भन्ने प्रश्नको उत्तरमा राजस्व विभागका प्रमुख काफ्ले भन्नुहुन्छ, ‘घरजग्गाको कारोबार सबै समयमा एकै प्रकारको छैन । कहिले धेरै र कहिले कम हुन्छ । विगत तीन वर्षदेखिको घर जग्गा रजिस्ट्रेशनबाट प्राप्त भएको दस्तुरको विश्लेषण गर्दा कारोबार घटिरहेको अवस्था देखिएको र कित्ताकाटका लागि सरकारले छिटो छिटो निर्णय परिवर्तन गरेको देखिएकाले यस शीर्षकमा राजस्व सङ्कलनको लक्ष्य घटाएका हौँ ।’ 

यस वर्ष ससर्त अनुदान चालुतर्फ एक अर्ब ४२ करोड ६७ लाख ४६ हजार रुपैयाँ र ससर्त अनुदान पुँजीगततर्फ २९ करोड ५० लाख रुपैयाँ लक्ष्य राखिएको छ । यी शीर्षकमा क्रमशः ३५ करोड ६६ लाख ११ हजार पाँच सय रुपैयाँ (२४ दशमलव ९९ प्रतिशत) र ७३ लाख ७५ हजार रुपैयाँ (२५ दशमलव शून्य शून्य प्रतिशत) प्राप्त भएको छ । गएको वर्ष यी शीर्षकमध्ये चालुतर्फ एक अर्ब २८ करोड ९६ लाख छ हजार रुपैयाँ र पुँजीगतर्फ २४ करोड १० लाख रुपैयाँ लक्ष्य राखिएको थियो । सरकारबाट यी दुवै शीर्षकमा एकमुष्ट ४० करोड १० लाख ११ हजार पाँच सय ५० रुपैयाँ प्राप्त भयो । यस कारण गएको वर्ष महानगरले चालु र पुँजीगत छुट्याउन नसकेकाे र यस वर्षदेखि भने छुट्याएर पठाउने थालेकाे राजस्व विभागका प्रमुख काफ्लेले बताउनुभयो । 

पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा पाँच करोड ९१ लाख ११ हजार पाँच सय रुपैयाँ (५९ दशमलव ११ प्रतिशत), दुई करोड ५० लाख रुपैयाँ बेरुजु फर्स्याेट गर्ने लक्ष्य राखिएकोमा एक करोड ३४ लाख ७८ हजार नाै सय ९७ रुपैयाँ (५३ दशमलव ९२ प्रतिशत), अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा ५० लाख ९६ हजार पाँच सय रुपैयाँ (एक सय एक दशमलव ९३ प्रतिशत) राजस्व सङ्कलन भएको छ । 

नाता प्रमाणित दस्तुरमा ३५ दशमलव ४८ प्रतिशत, प्रशासनिक दण्ड जरिबाना र जफतमा ३७ दशमलव ८८ प्रतिशत, व्यवसाय रजिस्ट्रेशन दस्तुरमा ३० दशमलव ७२ प्रतिशत लक्ष्य प्राप्त भएको छ । यी शीर्षकमा क्रमशः ५० लाख, दुई करोड र ७१ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको थियो भने १७ लाख ७४ हजार, ७५ लाख ७६ हजार ४३ र २१ करोड ८१ लाख ४५ हजार दुई सय २९ रुपैयाँ प्राप्त भएको छ । 

बाँडफाँटबाट प्राप्त हुने विज्ञापन करबाट लक्ष्यको चार दशमलव ९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार एक सय ८७ रुपैयाँ प्राप्त भएको छ । यस शीर्षकमा गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा एउटै अङ्क (आठ करोड रुपैयाँ) लक्ष्य राखिएको छ । 

यससँगै महानगरपालिकाले पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस, न्यायिक दस्तुर, व्यक्तिगत आन्तरिक अनुदान, बाँडफाँटतर्फ बन रोयल्टी, वित्तीय निकायबाट प्राप्त हुने ब्याज, समानीकरण अनुदानलगायत शीर्षकबाट आय प्राप्त गर्छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया