मनोचिकित्सक नभएका १४ जिल्लामा मानसिक उपचार सेवा शुरु

 मंसिर ११, २०८० सोमबार ८:३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - मानसिक स्वास्थ्य सेवामा सबैको समान पहुँच पुर्याउनका लागि भन्दै सरकारले मानसिक स्वास्थ्य उपचार सेवा नभएका १४ जिल्लामा सेवा शुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा मनोचिकित्सक नभएका हरेक प्रदेशका दुई/दुई जिल्लामा मनोचिकित्सक पठाएर मानसिक स्वास्थ्य सेवा शुरु गरेको हो ।

महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्रप्रसाद बरालले मनोचिकित्सक नपुगेका जिल्लामा मानसिक स्वास्थ्य सेवा पुर्याउनका लागि मनोचिकित्सक पठाएर उपचार सेवा शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशको पाँचथर र भोजपुर, मधेस प्रदेशमा महोत्तरी र रौतहट, बाग्मती प्रदेशको सिन्धुपाञ्चोक र रसुवा, गण्डकी प्रदेशको लमजुङ र म्याग्दी, लुम्बिनीको बर्दिया र रुकुम पूर्व, कर्णालीको दैलेख र कालीकोट तथा सुदूरपश्चिम प्रदेशको बैतडी र बझाङ जिल्लामा मनोचिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

मनोचिकित्सकको टोली परिचालनसँगै अब यी जिल्लाका मानसिक रोगीले उपचारका लागि अरु ठाउँ धाउनु नपर्ने उहाँले बताउनुभयो । मनोचिकित्सकले त्यहाँ रहेका स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने छन् । बिरामीले निःशुल्क औषधि पाउने छन् । शाखाले ती जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम समेत दिएको छ ।  

मनोचिकित्सक नभएका अरु जिल्लामा पनि सेवा विस्तार गर्ने सरकारको तयारी छ ।  राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण–सन् २०२० मा गरिएको अध्ययनमा सय जनामध्ये १० जनामा कुनै न कुनै प्रकारका मानसिक समस्या रहेको पाइएको थियो ।  

विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को तथ्याङ्कअनुसार नेपालमा बहिरङ्ग विभागमा आएका बिरामीमध्ये पाँच प्रतिशत बिरामीमा मानसिक स्वास्थ्य समस्या रहेको छ । यस्तै, नेपाल प्रहरीको प्रतिवेदन अनुसार मानसिक स्वास्थ्य समस्याका कारण दैनिक १८ देखि १९ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया