लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

 मंसिर १२, २०८० मंगलबार १२:२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । 

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पारेकाे भन्दै सुनवलवासी आन्दोलित भएका हुन् ।

सुनवलका स्थानीय बासिन्दाले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण सङ्घर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत मागबारे जानकारी दिएका हुन् । वि.सं. २०४६ सालमा तत्कालीन सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार जिल्लाको सुनवल नगरपालिका-१ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । याे समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण भएदेखि झनै प्रदूषणको अवस्था बढ्दै गएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

चिनी मिल सञ्चालकले मिलको प्रदूषण न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुवाँ, खरानीले बजार प्रदूषित भएको उनीहरुको भनाइ छ । डिष्टिलरीबाट निस्किने दूषित फोहर पानीले सुनवल बजार नै दुर्गन्धित भइ मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पारिरहेको सङ्घर्ष समितिका उप संयोजक टेकप्रसाद न्यौपानेले बताउनु भयो ।

चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदूषण न्यूनीकरणका लागि विभिन्न सहमति सम्झौता गरे पनि अहिलेसम्म कार्यान्वय गरेको छैन । मिल सञ्चालकले उद्योगबाट निस्किने धुवाँ, खरानी र फोहर दूषित पानी न्यूनीकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलवासी त्यसको प्रत्यक्ष मारमा परिरहेका सङ्घर्ष समितिका संयोजक युवराज ढकालले बताउनु भयो ।

८६ बिगाहा क्षेत्रफलमा फैलिएको याे चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छ । मिलबाट निस्किने धुवाँ र खरानी उडेर घरहरुमा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहर हुनुकासाथै श्वास लिन समेत अप्ठ्याराे बनाएको उनीहरुको भनाइ छ । उता डिस्टिलरीबाट निस्किने प्रदूषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित हुँदै गएको सङ्घर्ष समितिको आरोप छ।

चिनी मिलबाट पालिकाको वडा १,३,४ र ६ वडा प्रत्यक्ष मारमा परेको र यसबाट करिब ७० हजार जनसङ्ख्या प्रभावित बनेका छन् । प्रदूषण रोकथामका लागि सङ्घर्ष समितिले पटक पटक मिल र सरोकारवालाहरुसँग समन्वय सहकार्य गरे पनि कुनै सुनुवाइ नभएकाले सङ्घ समितिले आन्दोलन थप सशक्त बनाउने जानकारी दिएको हो । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया