अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ एकै किस्तामा दिन कांग्रेसको सुझाव

 मंसिर १३, २०८० बुधबार १८:५५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एकै किस्तामा बजेट दिने व्यवस्था गर्न सरकारलाई सचेत गराएको छ ।

आज बुधवार पार्टी सभापति देउवासकाे निवास धुम्बराहीमा बसेकाे पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो ।

बैठकमा पार्टी उपसभापतिसमेत रहनुभएका रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प पीडितकाे राहतका लागि सरकारले गरेका कामबारे बैठकलाई जानकारी गराउनुभएकाे थियाे । यस्तै कांग्रेस नेताहरूले भूकम्प प्रभावित क्षेत्रका मानिसकाे चिसोले ज्यान जाने क्रम शुरु भएकाे भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘भूकम्प प्रभावित क्षेत्रमा रकम पठाईसकिएको, तर अझै पनि स्थानीय तहमा र पीडितको हातमा रकम नपुगेको कुरामा हामी गम्भिर भएका छौं । र, चाँडै नै पठाउँछौं, पुग्दैछ भन्ने कुरामा जानकारी भयो । तर पार्टीको तर्फबाट त्यो रकम दुई किस्तामा दिने भनिएकोमा त्यो रकम एकै पटक दिनुपर्छ भनेर सरकारलाई भनिएको छ । त्यसैगरी सुत्केरी, गर्भवती महिलाहरु चिसोबाट प्रभावित भएका छन् । वृद्धवृद्धाहरुको मृत्यु नै भएको छ । त्यसमा आवश्यक व्यवस्था सरकारले गरोस भन्ने कुरा भएको छ ।’

यसैगरी बैठकले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष पनि निकालेको छ । बैठकले सङ्घीय लाेकतान्तिक गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकमा आउँदाे पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेन्डाबारे पनि छलफल भएको थियो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया