कोप-२८ दुबईमा शुरु हुँदै, प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट सम्बाेधन गर्नुहुने

 मंसिर १४, २०८० बिहीबार ८:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जलवायुसम्बन्धी सम्मेलन कोप–२८ आजदेखि यूएईको दुबईमा शुरु हुँदैछ । विश्वका नेताहरू जलवायु परिवर्तन कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न दुबईमा भेला भएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गएराति यूएई पुगिसक्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट पर्सि सम्बोधन गर्नुहुनेछ । यो सम्मेलनमा नेपालको मुख्य एजेन्डा जलवायु परिवर्तन र त्यसबाट हिमालय क्षेत्रमा परेको असर तथा त्यसको न्यूनीकरणका लागि पहल रहेको छ।

प्रधानमन्त्री प्रचण्ड भोलि र पर्सि ‘विश्व जलवायु शिखर सम्मेलन’ को उच्चस्तरीय सत्रमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सम्मेलनका क्रममा सहभागी विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख, अन्य उच्च पदस्थ व्यक्तिसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ । उहाँ मङ्सिर १७ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । आउँदो मंसिर २६ गतेसम्म चल्ने कोप–२८ सम्मेलनले दीर्घकालीन विश्वव्यापी तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यलाई जीवन्त राख्ने अपेक्षा गरिएको छ ।

विश्वका झण्डै दुई सय देशले सन् २०१५ मा पेरिसमा यो लक्ष्यमा सहमति गरेका थिए । राष्ट्रसङ्घको जलवायुसम्बन्धी निकाय जलवायु परिवर्तनबारे अन्तरसरकारी समिति (आईपीसीसी) का अनुसार जलवायु परिवर्तनकाे सबैभन्दा हानिकारक प्रभाव छल्नका लागि यो लक्ष्य एकदमै महत्त्वपूर्ण छ ।

कोप–२७ मा जलवायु परिवर्तनका प्रभावहरू सामना गरिरहेका गरिब देशहरूका लागि धनी देशहरूले ‘हानि तथा नोक्सानी’ कोष स्थापना गर्ने सहमति भएको थियो । तर यो कोषले कसरी काम गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

चरम मौसमी अवस्थाका कारण जलवायुसम्बन्धी धेरै कीर्तिमानहरू भङ्ग भएको वर्षको अन्त्यतिर कोप–२८ विश्व जलवायु सम्मेलन शुरु हुन लागेको हो । सम्मेलनमा भविष्यमा हुन सक्ने जलवायु परिवर्तनलाई कसरी सीमित गर्ने र त्यसका लागि कसरी तयारी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया