परराष्ट्रमन्त्री राणा आज चीनको छेन्दु जाँदै
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा आज बुधवार बोल्दै सांसदहरुले एनसेलको शेयर खरिदबिक्री प्रकरणको गहिरो गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिएका हुन् । एनसेलले आफ्नो ८० प्रतिशत शेयर बेच्दा कर छली गरेको भन्दै यसको अनुसन्धान गर्नुपर्ने सांसदहरुको भनाइ छ ।
बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपालमा आम्दानी गरेर विदेशमा लगेर कम्पनी बेचेको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले एनसेलको कारोबार शंकास्पद र जालझेलपूर्ण रहेको बताउनु भयो ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणमा राजनीतिक व्यक्तिहरुको संलग्नता पनि हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले छानबिन समिति बनाउँदा राजनीतिक रङ्ग पर्न नदिइ न्यायिक आयोग बनाउनुपर्ने र त्यसले छानबिन गर्नुपर्ने बताउनु भयो ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले एनसेल डुब्दा बैंक डुब्ने र बैंक डुब्दा नेपाली जनता समेत डुब्ने भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनु भयो । उहाँले एनसेलले ६ अर्बमा आफ्नो शेयर बेच्ने हो भने सेयर किन्ने पहिलो अधिकार नेपाल सरकारलाई हुने बताउनु भयो । उहाँले सरकारले ६ अर्बमा शेयर किनेर अर्को टेलिकम बनाउन सक्ने बताउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले एनसेलले नेपालको दूरसञ्चार क्षेत्रलाई नै आफ्नो नियन्त्रणमा राख्न योजनाबद्ध ढंगले लागेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले छानबिन प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनु भयो ।
नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले सरकार दह्रो रुपमा प्रस्तुत भएर एनसेल प्रकरणको छानबिन गर्नुपर्ने बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एनसेललाई कर नतिरुन्जेल र बैंकको ऋण नतिरुञ्जेल कुनै निर्णय गर्न दिन नहुने बताउनु भयो । उहाँले एनसेलले शेयर खरिदबिक्रीमा सरकारको अस्तित्वलाई समेत अस्वीकार गरेको भन्दै एनसेलप्रति छानबिन हुनुपर्ने बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पनि एनसेलको शेयर प्रकरणमा स्वतन्त्र छानबिनको माग गर्नुभयो । उहाँले सर्वदलीय, उच्चस्तरीय नाम दिएर छानबिन समिति नबनाइ स्वतन्त्र र निष्पक्ष ढङ्गले छानबिन गर्नसक्ने समिति बनाउनुपर्ने बताउनु भयो ।
बैठकमा बोल्ने अन्य सांसदहरुले पनि एनसेलको शेयर किनबेचमा आर्थिक घोटाला भएको भन्दै छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।