सुमनको रङ्गमञ्च

 मंसिर २१, २०८० बिहिबार १४:१४:१४ | प्रवीण सन्नाटा
unn.prixa.net

कसैलाई जिन्दगी के हो भनेर सोध्यो भने धेरैले सहज रुपमा दिने जवाफ हो ‘नाटक’ । तर नाटक के हो भनेर सोध्यो भने धेरै कमसँग यसको जवाफ पाउँछु म । भलै अहिलेको जमात विद्वानहरुको जमात हो । यहाँ सबैसँग आफ्नै विचार छ, वाद छ, दृष्टिकोण छ, आस्था छ । एकले अर्कालाई कुनै पनि कुरामा मनाउनु लगभग असम्भव जस्तै भैसकेको छ । फेरि पनि प्रायः सबैतिर निष्कर्षविहीन छलफल र बहसहरु भैरहेकै हुन्छन् ।

‘नाटक’ मेरा लागि पनि सधैँ रुचिकै विषय बन्यो । विशेषतः आफू सानो हुँदा अभिभावकहरुले बजारमा साना तथा ठूला नाटकहरु देखाउँथेँ । त्यति बेला सिनेमा हेर्न जाने पैसा निकै कमसँग हुन्थ्यो । अझ भनौँ पैसा नै हुँदैनथ्यो । त्यसैले पनि अभिनय गर्ने र हेर्ने रहर हामीले नाटक हेरेर पुरा गर्थ्यौँ । प्रायः रातमा देखाइने नाटकहरु खुला चौरमा हुन्थे । पेट्राेलम्याक्स र लालटिनको बत्तीले चौरमा उज्यालो प्रकाश दिन्थ्यो । चाडबाडहरु त्यसकारणले पनि थप प्रिय लाग्थे । फर्कँदा कलाचेतले भरिएर हामी घर पुग्थ्यौँ । भोलिपल्टबाट आफूलाई पनि कुनै चरित्रमा ढालेर एक्लै हुँदा अभिनय गर्ने रहर जाग्थ्यो । कसैले देख्यो भने लजाएर भाग्नु पर्थ्यो । हुर्कँदो उमेरले हामीलाई कलासँग प्रेमिल हुन सिकाइरहेको थियो । त्यसपछि एकाएक नाटकहरु देखाउन बन्द भए । पछि थाहा भयो रातमा मान्छेहरु भेलाहुन कार्यक्रम गर्न त्यसबेला बन्देज रहेछ । कलाकारहरु विदेशिए । नेपालमा भएकाहरु पनि व्यवहारले थिचेर कुनै कामकाज र निमेकमा भुल्न थाले । उनीहरुले पनि नाटक बिर्सिए । त्यसपछि हाम्रा चाडबाडहरु नाटकविहीन हुन थाले । अझ हामी भन्दा पछिका पुस्ताले नाटक बिर्सिए । भेलाहुन, जम्मा हुन बिर्सिए । मान्छेहरुका जीवित चरित्र निर्वाह गर्नु मात्र जिन्दगी बन्न थाल्यो । र जिन्दगी के हो भनी सोध्दा जवाफ हुन्थ्यो ‘नाटक’।

धेरै पछि सायद अलि अलि जुङ्गाका रेखी बसेका हुँदा हुन् नाक मुनि । हामीले एउटा जमर्को गर्‍याैँ । दशैँको फूलपातीको दिन किर्तनपुरको चौरमा नाटक देखाउने । एसएलसी दिन भरतपुर गएको म ११ कक्षाको पढाइ शुरु गरेर दशैँ मान्न माडी फर्किएको थिएँ । गाउँमा केही नयाँ गर्ने हुटहुटी थियो । योजना मुताबिक हामीले नाटकको परिकल्पना गर्‍याैँ । पतरे रेडियो स्रोता क्लबको रुपमा हामीले हाम्रो संस्थागत परिचय बनाएका थियौँ । नाटक प्रदर्शन गर्ने जिम्मेवारी बाँडफाँटका क्रममा म लेखक भएँ । र मुख्य भूमिका आफैँले लिएँ । गरिबको । मेरो परिवार बिनु, अनिल र अनिशाले लिए । विकाश पाण्डे विनोद हरि विष्णुले खलनायकको पात्र सम्हाले । सगुन र सन्देशले पनि चरित्र निर्वाह गरे । विमल, विकाश, विवश, सिपी, भोला लगायतले व्यवस्थापकीय पाटो सम्हाले । नाटक तयार भयो । गरिबको दशैँ ।

फूलपातीको दिन । हामीलाई बिहानैदेखि चटारो थियो ।घाम उदाउँदा हामी खाट बोकिरहेका थियौँ । खाटलाई चौरको अघिल्तिर लटरम्म मिलाएर राखियो । स्टेजको डिजाइन तीनै खाटबाट गरियो । विनोदले हामीले बोकेर ल्याएको खाटलाई मिलाउने काम गर्‍याे। वरिपरिबाट तन्ना बेरेर सेट तयार गरियो । थाकेको शरीरले त्यसदिन खान नै बिर्सियो । र भोको पेट हामीले नाटक देखायौँ किर्तनपुरको चौरमा । त्यसपछि फेरि केही वर्ष हामी र अरु साथीहरुले नाटक देखाउने क्रम शुरु भयो । लक्ष्मीनिवासमा अवस्थित बहुउद्देशीय स्रोत केन्द्रले पनि नाटकका लागि पछिसम्म योगदान दियो । कलाकारहरु जन्मायो । धेरै ठाउँमा सडक नाटक मार्फत् कलाचेत ‘रिचार्ज’ गर्ने काम गर्‍याैँ ।

‘म पोखरामा थियटर सिक्दैछु । माडीमा पनि थोरै पृथक शैलीमा नाटक देखाउने रहर छ । हजुरहरुको सहयोगको अपेक्षा गरेको छु ।’ एकदिन कसैले मलाई भेटेर भन्यो । जाडो भरखर सकिएर गर्मी लाग्दै थियो । म माडी नगरपालिकामा आएको करिब चार वर्ष पूरा भएर पाँचौ वर्ष लाग्ने तरखर थियो त्यो । भरखरको केटो । लामो कपाल । झुस्स दारी पालेको । उसले सायद मलाई धेरै नै इज्जत दिएकोले पनि होला प्रष्टसँग विषय राख्न हिच्किचाइरहेको थियो । ‘उनी सुमन तिमिल्सिना हुन् दाइ । घर बरुवामा हो । असाध्यै राम्रो कलाकार । उनलाई हामीले हौसला दिनुपर्छ ।’ उनीसँगै आएका भुपराज पाठकले प्रष्ट पारे । भुपराज राम्रो गायक र प्रतिभावान् स्ट्याण्डअप कमेडियन मात्र होइनन् स्पष्ट वक्ता र ब्रेल लिपीबाट समाचार पढ्ने क्षमतावान् व्यक्ति पनि हुन् । मलाई भेट्न आएका भुपराज र सुमनले मभित्रको कलाचेतलाई पनि काउकुती लगाइदिए । उनीहरुसँगको एक घण्टा जतिको सम्वादले टिप्पणी लेखनबाट थोरै बाहिर आएर लेउ लागेको मेरो साहित्य पनि माझिन खोज्यो । खाटको स्टेजको सम्झनाले मलाई फेरि ती साथीहरुको याद दिलायो । हामी धेरै बेर गफियौँ । मैले सकेको उर्जा दिएर पठाएँ ।

नयाँ वर्ष २०८० शुरु भएसँगै सरुभक्तको अप्रकाशित नाटक ‘आधा मरेका सन्तान’ लिएर उनीहरु पुष्पमदन बाटिकामा आइपुगे । त्यसैबेला सुनिएको नाम हो माडी रङ्गमञ्च । योसँगै माडीमा फेरि शुरु हुन्छ रङ्गमञ्चको छलफल । भुपराजले शुरु गर्छन् नाटकको पृष्ठभूमि । माडीकै कलाकारको अभिनयबाट नाटक प्रदर्शन हुन्छ । नाटकका केही शोहरु चल्छन् । कसैले आहा भन्छन् । कसैले सुधार्नु पर्ने धेरै छ भन्छन् । कसैले सकरात्मक, कसैले नकरात्मक प्रतिकृया दिन्छन् । आखिर कला हो । सबै सुझावहरु कलाका लागि सम्पत्ति हुन् । सुमन आफैँले निर्देशन गरे पनि उनी त्यस नाटकमा खेलेका थिएनन् । सबै सुझावहरुबाट सुमन थप परिस्कृत हुन्छन् । उनको कलाको प्यास यतिले मेटिँदैन । म माडी बाहिर भएकाले अन्तिम समयमा मात्र म आइपुगेको थिएँ । आधा मरेको सन्तानको अन्तिम शो थियो त्यो । नाटक सकिएपछि कसेर अँगालो मार्दै मैले उनलाई बधाई दिएँ । सुमनमा मैले आफ्नै स्वरुप पाउँथे । मजस्तै उनी पनि यस क्षेत्रबाट बाहिरिनु नपरोस् भन्ने कामना थियो । ‘सर म सन्तुष्ट छैन । यो भन्दा धेरै गर्न सकिन्थ्यो ।’त्यसदिन उनले मलाई दिएको जवाफ थियो त्यो ।

सुमनहरु फरक छन् । उनीहरु कहीँ कतै बसेर आज मज्जाले पार्टी गरौँ न भन्ने गफ गर्दैनन् । अरुलाई जिस्काउने, होच्याउने, कुरा काट्ने, देश दल र नेता प्रति असन्तुष्टि पोख्ने बानी उनीहरुमा छैन । उनीहरु आज एउटा कलाकार माडीमा जन्मनु पर्छ भन्ने सोच राख्छन् । यही पवित्र भूमिमा बसेर बाल्मिकीले राम र सीताको पात्र जन्माएका थिए । रावणले तपस्याको स्वरुप नृत्य पनि हो भनेर यही भूमिमा नयाँ प्रयोग गरेका थिए । यहीँ दिनेश्वर महतो र सूर्य मध्यरातहरु मूर्ति बनाएर कलाको सेवा गरिरहेका छन् । डि बराल र राजेश बरालहरु चित्रमा विचित्र आनन्द मानिरहेका छन् । पोषराज पौडेल र धनेश्वर भट्टराईहरुले साहित्यमा नयाँ आयाम रच्ने प्रेरणा यतैकतै पाएका थिए । सुमनले बुझेका छन् । सोमेश्वरको आलिङ्गनमा बहने रिउ यत्तिकै बहने होइन । यहाँको त बगरले पनि ढुङ्गालाई शालिग्राम बनाइदिन्छ । हावाले पनि गीत गाउँछ । कोइलीको भाकामा मयुरहरु नाच्छन् । साइबेरियादेखि प्रेम साट्न चराहरु यहाँ आउँछन् । प्रकृती स्वयमले कलाको सम्मानमा यो ठाउँ रचेको छ । यो कलाको उर्वर भूमि हो । यहाँ कलाको सम्मान हुन्छ । सुमनहरु यस भूमिलाई फेरि एक पटक कलामय बनाउन भोकै हिँड्छन् । समयमा दारी फाल्न उनीहरुसँग पर्याप्त पैसा हुँदैन । चिया पसलमा चिया पिएर घण्टौ गफिन उनीहरुसँग समय हुँदैन । उनीहरु त खोजिरहन्छन् कलाकारहरु । रोपिरहन्छन् कलाको बीउ । सुलभ बन्धु र प्रेम बिष्टहरुजस्ता अग्रजहरुलाई साथमा हिँड्न प्रस्ताव राख्छन् । पोखरादेखि लिएर आउँछन् केही कलाकार, प्राविधिक र सेट व्यवस्थापकहरु ।

बिडम्बना, यो त्यही देश हो जहाँ खेलाडीले मैदान पाउँदैन । कलाकारले हल पाउँदैन । नाटक मञ्चन हुने थियटर पाउँदैन । आजकल माडीमा कसैले न नाटक हेर्छ न माडी भित्रै सिनेमा । भएको एउटा सिनेमा हलको पर्दामा माकुराले जालो लगाइसकेको हुन्छ । कुनैबेला माइक बजेर मान्छे बोलाइरहने सिनेमा हलतिर आजकल कसैले पनि नजर लगाउँदैन । कसैले चिन्दैन बिक्रमबाबा चलचित्र मन्दिर । त्यो मन्दिर थियो कुनैबेला । जसले कलाको पूजा गर्थ्यो । आजकाल माडीमा कलाको पूजा हुँदैन । सिनेमा हेर्न पनि सहर दौडनु पर्छ । तर सुमनहरु भोको पेटमा माकुराको जालो र मुसाका लिँडहरु घिन नमानी फाल्छन् । भुपराज पाठक, शंकर गिरी, कृष्ण परियारले उनीहरुलाई समय दिएर सघाउँछन् । र उनीहरुले मसानलाई घर बनाईदिन्छन् । र भन्छन् मसान तयार भयो ।

अँध्यारो भवन भित्र छिरेकाहरु पृष्ठभूमिमा बजिरहेको सारङ्गीको मिठो धुनमा भुल्छन् । चकमन्न अँध्यारोका बीच केही बेरमा शुरु हुन्छ एउटा रङ्गमञ्चको कथा । जसले हामीलाई लैजान्छ विसं २००२ साल तिर । त्यहाँ जीवन्त पात्रहरु छन् । गोपाल प्रसाद रिमालले लेखेको नाटक मसानमा सुमन तिमिल्सिना, एलिशा भोग, रुजु ढकाल, सुलब बन्धु पोखरेल, प्रेम बिष्ट रोगी, प्रताप तिमिल्सिना, बबिता क्षेत्री, आयुष लामिछानेले आफ्नो जीवन्त अभिनय दिएका छन् । सुमनले गज्जबको निर्देशन गरेका छन् । एलिशाको जीवन्त अभिनयले नाटकका अनेकौँ आयाम र रससँग हामीलाई साक्षात्कार । उज्वलराज ढकालको सेट व्यवस्थापन र राजकुमार पुडासैनीको प्रकाश व्यवस्थापन तारिफ योग्य छ । भुपराज पाठकले जे परिकल्पना गरे त्यसलाई व्यवस्थित गर्न शङ्कर गिरी र कृष्ण परियार लागि परेका छन् । समग्रमा माडी रङ्गमञ्च मज्जाले जमेको छ । दर्शकहरु भुल्छन् उनीहरु बसेको कुर्ची कस्तो थियो । उनीहरु जुन भवन भित्र छन् त्यसको पर्खाल र भित्ता कुरुप भैसकेको बिर्साउँछ नाटकले । बरु लैजान्छ त्यही रङ्गमञ्चको संसारमा ।

एकपटक फेरि चलायमान बनेको छ माडी । भरखरै कुँदिएको शालीग्राम सोमेश्वरको काखमा सजाइएको छ । र भरखरै कुँडिएका कलाकारहरु कुँदिएर आएका छन् सिनेमा घरमा । उनीहरु हाँस्दा हाँस्दै रोइदिन्छन् । रुँदा रुँदै हाँसिदिन्छन् । प्रकाशले ‘ईमोशन’लाई झल्काएको छ । टल्किएका छन् उनीहरुका आँखाका आँसुहरु । बच्चा जन्मिएको उन्माद र मृत्युको आघातलाई जबरजस्त ओठ टोकेर बस्न बाध्य पार्छन् उनीहरु दर्शकलाई । उनीहरुले अभिनयमार्फत गजबको प्रेम, गजबको आक्रोश, गजबको प्रणय प्रस्तुत गर्छन् । उनीहरु देखाउँछन् आफूले बोकेको चरित्र । एउटी १८ वर्ष जतिकी नारीले बुढीको चरित्र निभाउँदै गर्दा कसैले यो भन्दैन की ऊ भरखरकी हो । बाग्मती बाग्मतीजस्तै छे बगिरहेकी । हेलेनका अनेकौँ स्वरुप छन् । हेलेनले नाटकलाई धानेकी छ । नोकरहरु जमेका छन् । केही आए पनि ससुराले कथालाई बगाएका छन् । मानो पाथी खेलेका र गट्टा खसेका बिम्बहरुले नाटकलाई जीवन्त बनाएको छ ।

मसानको मञ्चनले फेरिमाडीको कलाको चर्चा चुलिएको छ । माडीमा थियटरको खाँचो छ भन्ने छलफल चिया पसलदेखि सरोकारवाला निकायसम्म चल्न थालेको छ । सिनेमा घर तथा सभा गृहहरुको आवश्यकता महसुस गर्न थालिएको छ । आफ्नो समयमा नाटक खेल्दा खेल्दै बाध्यतावश विदेशिएका वा कला जीवन त्यागेकाहरुले आफ्ना पुराना समयहरु याद गर्न थालेका छन् र भन्न थालेका छन् आफ्नो जस्तो बिडम्बनाको मोड सुमनको समयमा नआओस् । थियटरमा ससाना बाबु नानी देखि बुढापाका पनि 'रियल टाइम' अभिनय हेर्न आएको देख्दा पनि पुष्टि हुन्छ । काठमाण्डौ र पोखरासँगै चितवन र यसको दक्षिणी छेउमा रहेको माडीले पनि नाटक क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सक्छ भन्ने चेत हामीमा पलाउन थालेको छ ।

फजुल खर्च गर्न बानी परेका हामीहरु कहिलेकाहीँ कहाँ, केमा, कसरी खर्च गर्ने भनेर सोच्न सकिरहेका हुँदैनौँ । नाटकले हामीलाई धेरै कुरा सिकाउँछ । परिवार कसरी मसान बन्छ भन्ने स्पष्ट सन्देश दिएको नाटकबाट त एउटा शिक्षा लिन सकिन्छ नै नाटक नाटक बन्न के कस्ता चिज चाहिँदा रहेछन् भन्ने पनि सिकाउँछ । नाटक कसरी जीवन बन्न सक्छ र जीवन कसरी नाटक भन्ने विषयको द्वन्द्वलाई नाटकले सम्बोधन गर्छ । मेहनत के हो र यसको प्रभाव के हुन सक्छ भन्ने सिकाउँछ । कला र यसमा सुमनहरुको समर्पण सिकाउँछ । अभिनय के हो सिकाउँछ । रुन हाँस्न र महसुस गर्न सिकाउँछ ।

रकम ठूलो कुरा होइन । आजकाल हामी यत्तिकै अनावश्यक खर्च गरिरहेका हुन्छौँ । एक पटक आफ्नो परिवार सहित यो नाटक हेर्नुहोस् । नाटक पछि बालबालिकामा फेरिएको स्वभाव महसुस गर्नुहोस् । उनीहरुलाई नाटकप्रति मोह जगाउनुस् । ताकि उनीहरु पनि सुमनहरुले जस्तै कुनै न कुनै सिर्जनशील काम गर्ने उत्प्रेरणा जगाउन् । उनीहरुका कामहरु पनि ताली बज्ने किसिमका हुन् । तपाईँहरु आफ्ना सन्तानलाई प्रगतिशील बनाउन चाहनुहुन्छ भने कर्मशील र अनुशासित बनाउन चाहनुहुन्छ भने नाटक देखाउनुस् । नाटक साधना हो । तपस्या हो । पूजा हो । प्रेम हो । यो अभिनय मात्र होइन । यो जीवन जीउने र जीवनलाई हेर्ने कला पनि हो । नाटक खेल्ने वा देखाउनेले मात्र होइन नाटक हेरुञ्जेल हामीले पनि दर्शकको भूमिकामा धन्नै डेढ घण्टा एउटा तपस्या गरिरहेका हुनेछौँ । र त्यसको प्रतिफल नाटक पश्चात पाउन सकिन्छ ।

तपाईँहरुका नाटक हेरे पछिका प्रतिकृयाहरु माडी रङ्गमञ्चका लागि सम्पत्ति हुनेछन् । प्रिय सुमन । रङ्गकर्मीको रुपमा तिमीले गरिरहेको साधनाको म प्रशंसक हुँ । तिमी र तिम्रो समूहलाई म र मजस्तै धेरै रङ्गमञ्च रुचाउनेहरुको तर्फबाट ससम्मान प्रेम ।

अन्तिम अपडेट: फागुन १८, २०८०

प्रवीण सन्नाटा

लेखक चितवनको माडी नगरपालिकाका सूचना प्रविधि अधिकृत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया