दुई करोडभन्दा धेरै रकम बक्यौता भएपछि बर्दिबासको साना सहरी खानेपानी सङ्कटमा

 मंसिर २३, २०८० शनिबार ११:१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – बक्यौता रकम असुल नहुँदा महोत्तरीको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था आर्थिक सङ्कटमा फसेको छ । उपभोक्ताले बक्यौता महसुल नबुझाउँदा बर्दिबास नगर क्षेत्रका छ हजार बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको संस्था आर्थिक सङ्कटमा सङ्कटमा फस्दै गएको हो ।

संस्थाको विगत बक्यौता चालु आर्थिक वर्षको गएको कात्तिक मसान्तसम्म दुई करोड १४ लाख रुपैयाँ नाघेको छ । संस्थाको अभिलेखअनुसार ५० हजारभन्दा बढी बक्यौता राख्ने उपभोक्ता झण्डै सयको हाराहारीमा पुगेका कोषाध्यक्ष भोजप्रसाद फुँयाल बताउनुहुन्छ । यसरी खानेपानी महसुल तिर्न अटेर गर्ने गृहस्थभन्दा कारोबारी संस्था र व्यापारिक घरानाका उपभोक्ता धेरै रहेका फुँयालले बताउनुभयो ।

‘संस्थामा १२ वर्षदेखि महसुल नबुझाउने पनि रहेछन्,’ कोषाध्यक्ष फुँयाल भन्नुहुन्छ, ‘आर्थिकरुपले विपन्न देखिनेले बरु समयमै तिरेका छन्, हुनेखानेले महसुल बुझाउने काममा अटेर देखिएको छ ।’ यसरी धेरै बक्यौता महसुल राख्नेमा सातवटा गैरसरकारी संस्था, छ वटा चलेका ठूला होटल, दुई वटा निजी तवरले सञ्चालित अस्पताल, दुई वटा सरकारी कार्यालय, दुई वटा विद्यालय र सम्पन्न घरानाका भनिने व्यापारी रहेका फुँयाल बताउनुहुन्छ ।

नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै गएको वैशाखदेखि नै बक्यौता महसुल बुझाउन ताकेता गरिए पनि अपेक्षित असुली हुन नसकेको संस्थाका पदाधिकारी बताउँछन् । पछिल्लो चरणमा कार्यालय व्यवस्थापनले महसुल नबुझाउने उपभोक्ताको धारा काट्नेसम्मका कारबाही शुरु गरिएको छ । केही उद्योगले त पानी चोरेर आफ्ना धन्दा सञ्चालन गरेकासमेत पाइएको समितिले जनाएको छ ।

पानी सङ्कलन, भण्डारण, पाइप व्यवस्थापन, पानी वितरण र कार्यालय व्यवस्थापनमा संस्थाको मासिक १२ लाख रुपैयाँ बढी खर्च हुन्छ । अहिले रकम अभावले समयमा सरसफाइका काम हुन नसकेर केही पानी ट्याङ्की उपयोगमा आउन नसकेका र विष्ट टोलमुनिको पानीट्याङ्कीमा विद्युतीकरण गर्न नसकिँदा सेवा प्रवाह बढी खर्चिलो भएको संस्थाका अध्यक्ष भुलनसेन ठकुरी बताउनुहुन्छ ।

‘पानीट्याङ्कीमा विद्युत् पुर्‍याउन ४० लाख रुपैयाँ खर्च हुने अनुमान छ, रकम अभावमा विद्युतीकरण गर्न नसक्दा डिजलपम्पबाट पानी तानिँदा प्रतिमहिना छ लाख रुपैयाँ भन्दा बढी खर्च हुँदैछ,’  अध्यक्ष ठकुरी भन्नुहुन्छ, ‘पुरानो बक्यौता नआउँदा संस्था आर्थिक सङ्कट बेहोर्दैछ ।’ रकमकै अभावमा विद्युतीकरण हुन सकेको छैन । 

संस्थाका बर्दिबास नगरपालिका वडा नम्बर १, २, ३ र १४ का गरी करिब छ हजार उपभोक्ता छन् । यी उपभोक्तालाई स्वच्छ  खानेपानीको सुविधा उपलब्ध गराउनु मुख्य जिम्मेवारी रहेको संस्था आर्थिक सङ्कटमा फस्दा गर्नुपर्ने काम प्रभावित हुँदै आएका छन् । आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै संस्थाको कार्यसमितिले बक्यौता महसुल नबुझाउनेहरुको धारा काट्ने निर्णय गरेको अध्यक्ष ठकुरीले पुष्टि गर्नुभयो ।

‘हामी निर्वाचित भएर काम थालेसँगै गएको वैशाखमै बक्यौता बुझाउन लिखित ताकेता गरेका छौँ, यसको सुनुवाइ नभएपछि अब धारा काट्ने निर्णय गर्न बाध्य भइयो,’ अध्यक्ष ठकुरी भन्नुहुन्छ, ‘यसै क्रममा मिटर चुँडाएर पानी चोरी गर्ने उद्योगविरुद्ध पनि कारबाही गरिन्छ ।’ प्रत्येक तीन/तीन वर्षमा नयाँ कार्यसमितिको निर्वाचन हुने संस्थामा यसअघिका समितिको कार्यकालका बक्यौता महसुल असुली टाउको दुखाइ बनेको ठकुरी बताउनुहुन्छ ।

खानेपानी संस्थाले उपभोक्ताबाट न्यूनतम ८० रुपैयाँ मासिक महसुल लिन्छ । यसवापत १० हजार लिटर पानी उपभोक्ताले खपत गर्न सक्छन् । खपत बढे महसुल पनि बढ्दै जान्छ । विगतका बक्यौता महसुल असुलउपर गर्न र धारा छेडछाड गर्नेविरुद्ध कारबाही हुने संस्थाका पदाधिकारीले बताउँदै आएका छन् । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया