गौचरनको सुनखानीमा नुन खानेको पक्राउ प्रहसन !

 मंसिर २५, २०८० सोमबार ८:२९:३२ | मिलन तिमिल्सिना
unn.prixa.net

नेपालमा सुन छिर्न छोडेको भ्रमले मन विचलित भएको थाहा पाएर होला, विचलित मनलाई शान्त पार्न बाटाघाटा र विमानस्थलमा भटाभट सुनका डल्ला फेला पर्न थाले । विमानस्थल भनेको विमान बस्ने र उड्ने ठाउँ मात्रै होइन, मान्छे र सरसामान वारपार हुने नाका पनि हो । विमानस्थलबाट यसरी वारपार हुने सरसामानमा नुनदेखि सुनसम्म सबैथोक पर्छ । मिलाएपछि नमिल्ने सामान पनि विमानस्थलबाट भित्र–बाहिर भैरहन्छ । अर्थात् नुनदेखि सुनसम्मका हरेक सामान विमानस्थलमा ओहोरदोहोर हुनु नियमित प्रक्रिया हो । तर यो नियमित प्रक्रियामा कहिलेकाहीँ मान्छेलाई शङ्का लाग्छ । विमानस्थलबाट सुनका डल्ला छिर्न छोड्यो कि भन्ने भ्रम हुन सक्छ । सुन छिर्नै छोड्यो भन्ने भ्रम भैरह्यो भने मान्छेहरू आत्तिन सक्छन् । त्यसमाथि अहिले विवाहको सिजन छ । विवाहमा बेहुला–बेहुली नभए तत्काल खोज्न र जोडजाड गर्न सकिन्छ तर सुनको बन्दोबस्त त पहिले नै हुनपर्छ । आर्थिक सङ्कट बढ्दै जाँदा बरु दालभात छोड्न सकिएला तर सुनको रमझम र भोजको तामझाम छाड्न सकिँदैन । त्यसैले अरूथोक नभए पनि सुन त चाहिन्छ चाहिन्छ ।

जाडोमा घाँटी छोप्ने गरी हाइनेक लगाउन परे पनि हाइनेक बाहिर सिक्री देखाउने चलन बसिसक्यो । हुन त बाहिर बेसारको लेप दले पनि सिक्री त पहेँलो देखिन्छ । तर मान्छेहरू यतिसम्म शङ्कालु भैसके कि अर्कोले लगाएको गहना नक्कली हो कि होइन भनेर समेत चियोचर्चो गर्छन् । पाएसम्म छामेरै हेर्छन् ।  त्यसैले पनि जसोतसो सुन जोड्नैपर्ने बाध्यता नेपालीलाई छ । त्यसैले सिधा बाटो ल्याउन नसकेका बेला बाटो मोडेर घुमाउरो पाराले भए पनि सुन त भित्र्याउनैपर्छ । घुमाउरो बाटोबाट सुन आउन छाड्यो भन्ने भयो भने नेपालीहरू आत्तिन्छन् । त्यसैले सुन भित्रिने नियमित प्रक्रियामा क्रमभङ्ग भएको छैन भन्ने सन्देश दिन विमानस्थलमा बेलाबेला प्रहसन भैरहन्छ । र यस्तो प्रहसन कहिले पूर्वको दोलखा र पश्चिमको थानकोटका सडक र खोला खोल्सातिर पनि चल्छ ।

यसपालिको प्रहसन अलि रोचक देखियो । सुन बोकेर आएका मान्छे सरासर जहाजबाट ओर्लिए । विमानस्थलको जाँच कक्षमा पुगे । सुरक्षाकर्मीले लुगा फुकाउन भनेपछि शिर ठाडो पारेर नाङ्गिन थाले । शानका साथ बाहिरको ज्याकेट फुकाले । भित्री ज्याकेटको तुना खोले र गोजीबाट फूर्तीका साथ सुनका डल्ला निकाले । उनलाई प्रहरीले थप केरकार गरे र उनका अर्को साथीलाई पनि समाते । विमानस्थलमा विगतदेखि चलिरहेको सुन प्रहसनको अर्को शृङ्खला सकियो ।

पछिल्लो प्रहसन हेरेपछि बल्ल मान्छेले सन्तोषको सास फेरे । भाउ बढेर दुई लाख नै किन नपुगोस् ततर सुनको अभाव हुँदैन भन्ने विश्वास बढ्यो । बजारमा प्याज र लसुन नभएर केही फरक पर्दैन तर सुन त चाहिन्छ चाहिन्छ । आम्दानी घटेर आर्थिक सङ्कट होस् न तापक्रम घटेर घाँटी छोप्नुपर्ने सकस, सुन नभई कसरी बाँच्ने ? धन्न भाउ बढिरहँदा सुनको तस्करी पनि घटेको रहेनछ । विमानस्थलबाट सुन भित्रिनु नियमित र सामान्य विषय हो, जसरी दिनहुँ नेपाली युवा विमानस्थलबाट बाहिरिन्छन् ।

नियमित भैरहने विषयलाई समेटेर कहिलेकाहीँ प्रहसन देखाइन्छ । सुन बोक्ने भरिया, ड्राइभर र कहिलेकाहीँ खरदार, सुब्बासम्म समातिएको नाटक मञ्चन गरिन्छ । सुनका मालिकसँग सरकार र दलहरूका सेटिङबारे चर्चा हुन्छ । अनि सुन तस्करलाई छोडिँदैन भन्ने पुराना भाषण दोहोरिन थाल्छन् ।

बेलाबेला सुन तस्कर भन्दै भरियाहरू उभ्याउने र हल्लाखल्ला गर्ने प्रहसन देखाएर सरकारले नेपालीलाई धनी बनाउने अभियानमा इँटा थप्ने काम गरेको छ । कसरी भन्नुहोला । पहिलो कुरा त सुन बोक्ने मान्छेलाई तस्कर भन्दै जाँदा सुन लाउने मान्छे तर्सन्छन् । किनकि कानमा, हातमा, नाकमा, नाइटोमा जता लगाए पनि हिँड्ने बेला सुन सँगै हुन्छ । आफ्नो अङ्गमा भएका सुन साथमै हुनु भनेको सुन बोकेर हिँड्नु हो । सुन बोक्ने मान्छे सुन तस्कर भनेपछि सुन लगाउने मान्छे पनि सुन तस्कर भैहाल्यो । सुन लगाउँदा अरूले तस्कर देख्ने भएपछि जसरी पनि सुन जोड्नुपर्ने रहर र बाध्यताबाट मान्छे पछि हट्छन् । पेट भोकै राखेर भए पनि नाक, कान, घाँटी पहेँलो बनाउने प्रवृत्तिमा सुधार हुन्छ ।

अर्को कुरा विवाहमा सुन किन्नैपर्ने झन्झटबाट मुक्ति मिल्छ । सुनको भाउ बढेकै कारण उमेर छिप्पिँदासमेत विवाहको आँट गर्न नसकेकाहरूलाई हौसला मिल्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा देशमा सुन फल्छ भन्ने कुरा सुनेर पनि मान्छे कामका लागि विदेशतिर भौँतारिरहेका छन् । खै त सुन फलाउन सकिएन भन्दै त्यही विमानस्थलबाट दिनहुँ हजारौँ मान्छे बाहिरन्छन् । तिनीहरूलाई देखाउनु छ कि देशमै सुन फल्छ । गाउँगाउँमा गएर सबैलाई एकैपटक देखाउन सकिँदैन । विदेश जानेहरूको भीड लाग्ने त्यही विमानस्थलमा सुन फलेको देखाउन सकियो भने विदेश जान लागेका युवाहरू जहाजको ढोकैबाट बाहिरिन सक्छन् । बाहिर जान लागेका युवाहरूलाई देशमै रोक्न र फर्काउन सक्नु भनेको सरकारको महत्त्वपूर्ण उपलब्धि पनि हो । त्यसैले पनि विमानस्थलमा बेलाबेला सुन फलाएको र समातेको प्रहसन हुन्छ ।

यति हुँदाहुँदै पनि उदेकलाग्दो कुरा चाहिँ सुन भेटिरहने विमानस्थललाई चाहिँ किन गौचरन भनिरहन्छन् कुन्नि ? अहिले न पहिलेजस्तो त्यहाँ गाई चराउन मिल्छ, न घाँस काट्न र घाम ताप्न । नाम त मिल्दो र सुहाउँदो पो हुनुपर्छ । सुन त परको कुरा मान्छे बोलेकोसमेत सुन्न नपाइने देशका कतिपय ठाउँको नाम सुनखानी छ । सुनका डल्ला फलिरहने विमानस्थलको नाम चाहिँ किन गौचरन ? कामअनुसारको सुहाउँदो नाम सुनखानी स्थल भन्न मिल्दैन र ?

अन्तिम अपडेट: फागुन १८, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया