गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो

 मंसिर २४, २०८० आइतबार १९:५९:२ | रासस
unn.prixa.net

तनहुँ – तनहुँको कर्णालीका रूपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यो सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादित करोडौँको सुन्तला बाटो अभावका कारण बजारसम्म पुर्‍याउन सकस हुने गरेको छ । 

अहिलेको समयमा यहाँको मुख्य उत्पादन भनेकै सुन्तला रहेको स्थानीय बताउँछन् । देवघाट गाउँपालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको छ । देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि यहाँका ग्रामीण क्षेत्रमा पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन नै गाह्रो हुने गरेको स्थानीयको भनाइ थियो ।

यहाँ उत्पादित सुन्तला सिधैँ काठमाण्डौको कालीमाटीमा रहेको तरकारी तथा फलफूल बजारमा लग्ने गरिएको देवघाट–३ छापस्वरा लुम्रिङका किसान कर्णसिंह रानाले बताउनुभयो । त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने गरेको उहाँले अनुभव सुनाउनुभयो । रानाले लामो समयदेखि सुन्तलाखेती गर्दै आउनुभएको छ । 

१३ वर्षदेखि सुन्तालाखेती गर्दै आउनुभएका रानाले भन्नुभयो, ‘हामीले यहाँ उत्पादन गरेका सुन्तला रोपवे (तुइन) र घुमाउरो बाटोको सहायता लिएर बजारसम्म पुर्‍याउने गरेका छौँ । बाटो अभाव र जटिलताका कारण यहाँ उत्पादित सुन्तला बजारसम्म पुर्‍याउँदा दोब्बर भाडा तिर्नुपर्छ ।’ विकट गाउँ भए पनि लुम्रिङबाट मात्रै झन्डै ३ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । 

‘यहाँबाट उत्पादित सुन्तला सिधैँ काठमाण्डौ पठाउछौँ । यहाँ उत्पादित सुन्तलाको माग उच्च भए पनि रोपवे र घुमाउरो बाटोका कारण ढुवानीमा निकै सास्ती हुने गरेको छ’, रानाले भन्नुभयो, ‘उत्पादन राम्रो भएकाले गाउँमा बस्ने वातावरण भने बनाएको छ ।’

देवघाट–३ का सुग्रिड, छिपछिपे, छापस्वरा, दगरा, लुम्रिङमा अन्य ठाउँमा भन्दा बढी सुन्तला उत्पादन हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवम् सुन्तला किसान भीमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष लुम्रिङ गाउँबाट मात्रै ३ करोड रुपैयाँभन्दा बढीको सुन्तला निर्यात भएको छ । अन्य अन्नबाली उत्पादन कम भए पनि सुन्तलाले गाउँको पहिचान बनाएको उहाँको भनाइ थियो ।

स्थानीय किसान व्यावसायिक सुन्तालाखेती गर्न थालेपछि गाउँमा युवापुस्ताको उपस्थिति देखिन थालेको भीमबहादुरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य अन्नबाली उत्पादन नभएका यहाँका किसानमा पछिल्लो समय सुन्तला उत्पादन बढेपछि केही वर्ष यता आशा पलाएको छ ।’ छिपछिपे, छापस्वरा, लुम्रिङ, दगरा, गाईघाटलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेतो नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान निकै सास्ती हुने गरेको किसान भीमबहादुरले बताउनुभयो ।

किसान नवराज गुरुङले सुन्तला बेचेरै यहाँका केही किसान लखपती बनेका बताउनुभयो । लुम्रिङका एकै घरबाट कम्तीमा २० लाख रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन गरी बिक्री हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

वार्षिक करोडौँको उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुने गरेको किसान बताउँछन् । नदीपारि रहेको सडकसम्म सुन्तला पुर्‍याउनै सकस हुने किसान कृष्णबहादुर गुरुङले बताउनुभयो । बजारसम्म पुर्‍याउन धेरैजसोले तुइन तथा घुमाउरो बाटो प्रयोग गर्ने गरेका उहाँको भनाइ थियो । दमौली, पोखरा तथा काठमाण्डौसम्म सुन्तला निर्यात गर्ने गरिएको गुरुङले जानकारी दिनुभयो । लुम्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाटमा पुल नहुँदा पनि सदरमुकाम दमौली हुँदै बजारसम्म सुन्तला पुर्‍याउन सकिने उहाँले बताउनुभयो । 

भरिया वा घुमाउरो बाटोमार्फत दोब्बर भाडा तिरेर सुन्तला बजार पुर्‍याउँदै आएको भीमबहादुरको भनाइ थियो । ‘अहिले नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी हुँदै साराङघाटको मोटरेबल पुलको बाटो प्रयोग गरी दमौली तथा काठमाण्डौसम्म सुन्तला पठाउने गरेका छौँ’, उहाँले भन्नुभयो । 

यसरी घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नुपरेको गुरुङले बताउनुभयो । ‘केही किसानले मुग्लिन–नारयणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट भरियामार्फत झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्दछन्’, उहाँले भन्नुभयो, ‘आँपस्वारा दगराका किसानले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाण्डौ लेजाने गरेका छन् ।’

नाल्दी र गाईघाटमा पुल भएको भए यहाँ उत्पादित सुन्तला ढुवानीमा सहज हुने गुरुङको भनाइ थियो । ‘पुल नहुँदा ढुवानी खर्च दोब्बर तिर्न बाध्य छौँ । नाल्दीमा पुल निर्माणको योजना परेको थियो । तनहुँ जलविद्युत् आयोजनाको तल्लो सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएकाले यो योजना पनि स्थगित भएको छ ।’ पुल र व्यवस्थित सडक नहुँदा यहाँका किसानले तुइनको प्रयोग गर्न बाध्य भएका उहाँले बताउनुभयो ।

यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल तुइनबाट नै राजमार्गसम्म पुर्‍याएर बजारसम्म पुर्‍याउने गरेको गुरुङले जानकारी दिनुभयो । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपक्षीका लागि दाना तथा चोकर पनि तुइनबाट नै ल्याउने गरिएको उहाँले बताउनुभयो । छापस्वारामा ६० घरपरिवार रहेका छन् । 

ढुवानीमा समस्या 

उत्पादित सुन्तला बजार पुर्‍याउन तथा दैनिक खाद्यान्न गाउँसम्म ल्याउने–लैजाने मुख्य ढुवानीको माध्यम भनेको घुमाउरो बाटो र तुइन मात्रै हो । यस क्षेत्रका स्थानीय अप्ठ्यारो र त्रासपूर्ण यात्रा गर्न बाध्य छन् भने उनीहरूले ढुवानीको समस्या भोग्दै आएका छन् ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवम् सुन्तला किसान रानाले भन्नुभयो, ‘सेती नदीमाथि पुल हालेर गाउँसम्म मोटरबाटो सहज बनाउन पाए गाउँलेलाई सहज हुन्थ्यो । मोटरबाटो नहुँदा जोखिम मोलेरै सामान ढुवानी गर्नुपर्छ । कहिलेकहीँ त सामान तुइनबाट झरेर क्षति हुन्छ ।’

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिका तीन तिरबाट नदीले घेरिएकाले निकै समस्या भएको बताउनुभयो । यहाँका ग्रामीण भेगलाई जोड्न पक्की पुल निर्माण गर्नुपर्ने अवस्था छ । नदीमा पुल नहुँदा ढुवानी र गाउँपालिकासम्म आउनका लागि सकस हुने गरेको उहाँको भनाइ थियो ।

अध्यक्ष थापाले ग्रामीण क्षेत्रलाई सहज बनाउन सेतीमादी नदीमाथि नाल्दीघाटदेखि लुम्रिङसम्म जाने ग्रामीण सडकलाई पालिकाले सुन्तला मार्गकै नामकरण गरी बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाकै स्रोतबाट सडक सञ्जाल जोडिए पनि पुल नहुँदा राजमार्गसम्म समान ढुवानी गर्न समस्या भइरहेको छ ।

अध्यक्ष थापाले यस्ता ग्रामीण क्षेत्रसँग जोडिएका बस्तीलाई सहज बनाउन सङ्घीय सरकारले नै चासो दिनुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रलाई प्रोत्साहन गर्न सामूहिक रूपबाट अनुदानको कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

नर्सरीका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको जनाउँदै अध्यक्ष थापाले काफलडाँडामा सुन्तला नर्सरी स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार देवघाटका १, २, ३ र ४ नम्बर वडाका विभिन्न भाग सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । 

विगतमा बारीबाटै डोकोमा बोकेर यहाँका किसानले सुन्तला नारायणगढ बजार क्षेत्र पुर्‍याउने गरेका थिए । नदीमाथि पुल नहुँदा यहाँका किसानको राजमार्गसम्म सिधै पहुँच पुगेको छैन । यसले गर्दा बिचौलियामार्फत दमौली, मुग्लिन, नारायणगढ र काठमाण्डौसम्म सुन्तला पुर्‍याउन घुमाउरो तथा रोपवे प्रयोग गर्नुपर्दा स्थानीयले उचित फल पाउन सकेका छैनन् ।

अन्तिम अपडेट: फागुन ११, २०८०

तपाईको प्रतिक्रिया