कोप–२८ सम्मेलन : जीवाश्म इन्धन प्रयोगको विकल्प खोजी गर्ने र क्रमशः टाढा हुने सहमति

 मंसिर २७, २०८० बुधबार १५:१९:३९ | एजेन्सी
unn.prixa.net

जलवायुसम्बन्धी सम्मेलन कोप–२८ मा जीवाश्म इन्धन प्रयोगको विकल्प खोजी गर्ने र क्रमशः टाढा हुने सहमति भएको छ । संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी प्रतिनिधिबीच निरन्तरको छलफलपछि यो सहमति भएको बीबीसीले जनाएको छ ।

दुबईमा सम्मेलन सम्पन्न हुनअघि जीवाश्म इन्धन प्रयोगको विकल्प खोजी गर्न देशहरूलाई आग्रह गर्ने सहमति पारित भएको कोप–२८ को नेतृत्व गरिरहेका सुल्तान अल जबेरले बताउनुभएको छ । पेरिसमा यसअघि निर्धारण गरिएको विश्व तापमान वृद्धिको लक्ष्य १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने सहमति कार्यान्वयनका लागि यो बलियो पक्ष मानिएको छ ।

अन्तिम समयमा भएको २१ पृष्ठ लामो सहमति कानुनीरूपमा भने बाध्यकारी हुने छैन । यद्यपि यसले जलवायु परिवर्तनको चुनौती सामना गर्न देशहरूलाई मार्गदर्शन गर्ने ठानिएको छ । सहमतिमा देशहरूले जीवाश्म इन्धनको विकल्पतर्फ जान न्यायपूर्ण, प्रक्रियाबद्ध र समतामूलक योगदान गर्ने भनिएको छ । भविष्यमा प्रयोग हुने कोइला, तेल र ग्यासजस्ता इन्धनहरूबारे जलवायु सम्मेलनमा लिखितरूपमा प्रतिबद्धता जनाइएको यो पहिलो पटक हो । सम्मेलनमा सन् २०२५ अघि नै विश्वव्यापी उत्सर्जन चरम तहमा पुग्ने सम्भावनाको पहिचान गरिएको छ । यद्यपि विकासशील देशहरूका लागि चरम तहमा पुग्ने समय केही ढिला हुन सक्छ ।

सम्मेलनले गरेको सहमतिलाई सहभागीहरूले उभिएर समर्थन गरेका थिए । तर केहीले यो सहमतिमा उभिएर समर्थन जनाएनन् । क्लाइमेट एक्सन नेटवर्क युरोप नामको गैरसरकारी संस्थाकी निर्देशक चिआरा मार्टिनेल्लीले यो सहमतिले हामीलाई आवश्यक हुने गति र स्पष्टताबारे मात्रा तोक्न नसकेको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया