कांग्रेस महासमिति बैठक चौथो पटक सर्‍याे, राष्ट्रियसभाका उम्मेदवार छान्ने जिम्मा देउवालाई

 मंसिर २९, २०८० शुक्रबार १५:५४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ दल नेपाली कांग्रेसको महासमितिको बैठक चौथो पटक सरेको छ । आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने गरी सार्ने निर्णय गरेको छ ।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि मङ्सिर १३ गतेदेखि १५ गतेसम्म हुने भनिएकोमा आजदेखि बस्ने गरी सारिएको थियो । आजदेखि शुरु हुने भनिएको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्मका लागि सारिएको थियो ।

नेता विश्वकर्माका अनुसार बैठक सार्नुको मुख्य कारण राष्ट्रियसभाको चुनाव रहेको छ । कांग्रेसले राष्ट्रियसभाको चुनावका लागि आज दल दर्ता गरेको छ भने उम्मेदवार चयन गर्ने जिम्मा पार्टीका सभापति शेरबहादुर देउवालाई दिएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दल दर्तालगायतका कामका लागि अधिकार दिएको थियो । त्यसपछि पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराउनुभएको हो ।

त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरू महासमितिमा सिफारिस गर्ने निर्णय गरेको छ । नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ गतेसम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

भूकम्प पीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपैयाँ दिन अझै नसकेकोबारे सरकारको ध्यानाकर्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने कार्य सम्पादन समिति बैठकबाट निर्णय भएको छ । बारामा शिक्षकहरूको धर्नामा भएको घटनाको भर्त्सना र तत्काल दोषीमाथि कारबाही गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचारका लागि माग गर्ने आजको बैठकमा निर्णय भएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया