महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई छिटो न्याय दिन पहल गर्छु : प्रस्तावित न्यायाधीश सुवेदी

 मंसिर २९, २०८० शुक्रबार १६:१२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतकी प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले महिला, बालबालिका र ज्येष्ठ नागरिकलगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गलाई छिटो छरितो रूपमा न्याय दिन पहल गर्ने बताउनुभएको छ ।

संसदीय सुनुवाइ समितिको आज शुक्रवारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश सुवेदीले महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गका मानिससँग सम्बन्धित विवादलाई छिटो छरितो रूपमा निरूपण गरी न्यायको प्रत्याभूति दिन विशेष पहल गर्ने बताउनुभएको हो । उहाँले न्यायमा ढिलाइले न्यायलाई पराजित गर्ने भन्दै छिटो छरितो न्याय सम्पादन गर्ने कुरालाई आफूले प्राथमिकतामा राख्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘न्यायमा विलम्बले न्यायलाई पराजित गर्ने भएकोले न्यायपालिकाको प्रमुख चुनौतीको रूपमा यही विषय रहेको छ भन्ने कुरा मैले मनन गरेको छु । छिटो छरितो न्याय सम्पादन गर्ने कुरा प्रमुखताका साथ राखेर मैले आफ्नो कार्यसम्पादन गर्नेछु भन्ने प्रतिबद्धता गर्न चाहन्छु । न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न हरसम्भव प्रयास गर्नेछु । नागरिकको मौलिक हकको संरक्षण, सम्वर्द्धनका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत विशेष संरक्षण आवश्यक पर्ने वर्गका मानिससँग सम्बन्धित संवेदनशील विषयका विवादलाई छिटो छरितो रूपमा निरूपण गरी न्यायको प्रत्याभूति दिने काममा मेरो विशेष पहल रहनेछ ।’

सुवेदीले न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयाे । मुद्दाको व्यवस्थापन, इजलासको समयको व्यवस्थापनमा आफ्नो सक्रिय पहल र सहभागिता रहने उहाँले बताउनुभयो ।

प्रस्तावित न्यायाधीश सुवेदीले विधिको शासन कायम गर्न, लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित लोक कल्याणकारी राज्यको स्थापना गर्ने काममा आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया