नियमनकारी निकाय कब्जा गरेर नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको छ : डा. वाग्ले

 पुस ६, २०८० शुक्रबार १४:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेकाे बताउनुभएको छ ।

आज शुक्रवार डा. डिल्लीराज खनालले वैदेशिक सहयाेगकाे प्रभावकारितामा आधारित रहेर लेख्नुभएकाे पुस्तक विमोचन कार्यक्रममा सांसद वाग्लेले नेपालमा नीतिगत 'सेटिङ' का आधारमा नियुक्तिसमेत किनबेच हुने गरेको बताउनुभयो । उहाँले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्ने बताउनुभयाे । वैदेशिक सहायता दिने निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने उहाँकाे भनाइ छ ।

सांसद वाग्लेले अहिले कागज मिलाएर अर्बाैँकाे भ्रष्टाचार गर्ने काम भइरहेको दाबी गर्नुभयाे । उहाँले ठेकेदार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशै भताभुङ्ग भएको बेलामा केहीले त बाँध्नुपर्‍याे नि । नभए यहाँ हरेक नियुक्तिदेखि बेचबिखन हुने । कागज मिलाएर अर्बाैँकाे भ्रष्टाचार गर्ने देशमा ठेक्कापट्टाको कुरै नगरौँ । सबैतिर भ्रष्टाचार छ । ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा (नियमनकारी निकाय नै कब्जा गर्ने) ,संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ । यसको अन्त्य हामी गर्छाैँ । बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला ? जहाँ सहयाेग चाहिन्छ त्यहाँ वित्त सर्त आवश्यक छ ।’

सांसद वाग्लेले प्रदेश सरकारहरूलाई पञ्चवर्षीय योजना बनाउन परामर्शदाताकाे आवश्यकता नभएको बताउनुभयो । उहाँले सिंहदरबारमा १० जना सल्लाहकार राखिएकाे तर अब प्रदेशहरूमा पनि राख्नुपर्छ भन्ने आवाज उठिरहेकाे भन्दै आफूहरू सरकार गयाे त्याे खारेज गर्ने दाबी गर्नुभयाे । उहाँले खुद्रे खालका योजनाहरूमा पनि निर्मम भएर अगाडि बढ्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया