प्रचण्ड नेतृत्व सरकारको एक वर्ष : धेरै निराशा, केही महत्त्वपूर्ण उपलब्धि

 पुस १०, २०८० मंगलबार ७:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बनेको सरकारको आज एक वर्ष पूरा भएको छ । २०७९ पुस १० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । लगत्तै उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिबद्धता अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार कमजोर देखिएको छ । प्रधानमन्त्री प्रचण्ड आफैँले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड दुई महिनामै अर्को गठबन्धन बनाउन पुग्नुभयो ।

कांग्रेसका सभापति शेरबहादुर देउवासँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिपछि यो बीचमा प्रचण्ड यही गठबन्धनभित्र बेलाबेला देखिने गरेकाे किचलोमा अल्झिएको टीकाटिप्पणी हुँदै आएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले प्रचण्ड नेतृत्वको सरकार सुशासन, विकास र सेवा प्रवाहमा कमजोर रहेको टिप्पणी गरेको छ ।

सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणमा सरकारले शुरुवातमा राम्रै गति लिए पनि अहिले सुस्त अवस्था छ । अर्थतन्त्र सुधारमा पनि धेरै काम गर्न सरकारले सकेको छैन ।

त्यस्तै, सङ्क्रमणकालीन न्यायसम्बन्धी काममा अहिले पनि निरन्तर बहस हुँदै आएको छ । जबकि यो विषय १७ वर्षदेखि अल्झिएको छ । अरु विकास निर्माणका काम पनि अपेक्षाअनुसार नभएको आम गुनासो छ । यसबाट आम नागरिकमा निराशा कायमै छ । तर सरकारले आर्थिक समृद्धिका लागि केही महत्त्वपूर्ण काम गरेको दाबी गरेको छ । ऊर्जा क्षेत्रमा केही महत्त्वपूर्ण काम अगाडि बढाएको सरकारले बताउँदै आएको छ ।

जलविद्युत् आयोजनाको निर्माण, प्रसारण प्रणालीको विस्तार, आन्तरिक खपत बढाउनेदेखि धेरै भएको बिजुली बिक्री गर्ने काम भएको छ । प्राधिकरणले यसवर्ष भारतमा १३ अर्ब बराबरको बिजुली निर्यात गरेको छ । विद्युतीय गाडीको प्रवर्द्धनलाई जोड दिएर प्राधिकरण आफैँ ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । 

यस्तै, यसपालि किसानले अलि सहजरुपमा रासायनिक मल पाएका छन् । गएको वर्ष चार लाख ८९ हजार मेट्रिक टन रासायनिक मल आयात गरिएकोमा चार लाख एक हजार मेट्रिक टन बिक्री वितरण भएको कृषि मन्त्रालयका सहप्रवक्ता तपेन्द्रप्रसाद बोहोराले जानकारी दिनुभयो । नेपाल भारतबीच कृषि तथा पशुपक्षी क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीअनुसार पशुनश्ल सुधार कार्यक्रममार्फत नेपालमा दुग्ध र मासु उत्पादन प्रवर्द्धनका लागि शुद्ध नश्लका लागि १५ मुर्रा राँगा प्राप्त भयो । 

सरकारले यसपालि धेरैजसो विद्यार्थीलाई पाठ्यपुस्तक पनि सहजरुपमा पुर्याएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लगातार तीन वर्षदेखि मुनाफामा गएको छ । 

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उहाँले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।     

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया