गाउँ रित्तिँदै गए, युवालाई रोजगारी दिएर स्वदेशमै राेक्नु जरुरी छ : राष्ट्रपति पाैडेल

 पुस १०, २०८० मंगलबार १३:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ सङ्ख्यामा विदेशिरहेका नेपालीहरुलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताउनुभएको छ । मङ्गलवार आज सरस्वती बहुमुखी क्याम्पसको ६५औं वार्षिकोत्सव समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्ने बताउनु भयो । उहाँले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा पनि प्रतिष्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताउनु भयो ।

राष्ट्रपति पौडेलले लोकतन्त्रपछि देशको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी गाउँ रित्तो भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले गाउँ किन रित्तिँदै छ ? भन्नेबारेमा नीति निर्माण र शासन सत्तामा बस्नेहरुको चासो र चिन्ता हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गाउँमा मोटर पुग्यो, बिजुली बल्यो, गाउँमा सञ्चार, स्वस्थ्य सुविधा, स्वास्थ्य चौकी, कलेजहरु सम्पूर्ण गाउँमा पुगे, तर सबै चिज पुगिसक्यो, गाउँ रित्तो भइसक्यो । त्यसलाई उपभोग गर्ने मानिसको अभाव भइसक्यो । आज गाउँ किन रित्तिँदै छ, नीति निर्माण र शासन सत्तामा बस्नेलगायत सबैको चिन्ता यसैमा केन्द्रित हुन जरुरी छ । शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवाहरु ताँती लागेर विदेशिने क्रम रोक्ने गरी रोजगारी र सीपमूक शिक्षा दिन जरुरी छ ।’

राष्ट्रपति पौडेलले विश्व बजारमा प्रतिष्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रमका लागि सामूहिक प्रयत्नको जरुरी रहेको पनि बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया