अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव

 पुस ११, २०८० बुधबार १४:१४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समाजवादी मोर्चाले अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिनुपर्ने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । आज बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्री प्रचण्डलाई यस्तो सुझाव दिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्रप्रसाद श्रेष्ठले भन्नुभयाे, ‘प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश बोझ हो कि भन्ने सन्देश प्रवाह भइरहेको कुरा बैठकमा उठेकाे छ । यसलाई कार्यान्वयन गर्न पनि समाजवादी मोर्चाले सल्लाह गरेकाे छ । अध्यादेश नै ल्याएर भए पनि यो कार्यान्वयन गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ ।’

बैठकले अहिलेसम्म भएका कामहरूको समीक्षा गरेकाे र मोर्चाका कामको बारेमा जानकारी गराएको बताउनुभयो । उहाँले सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध अभियान चलाएर इतिहासमै राम्रो काम गरेकोमा धन्यवाद दिएको र सङ्घीयता, धर्मनिरपेक्ष लगायतमा बाहिर र भित्री शक्ति लागेको बारेमा छलफल भएको जानकारी गराउनुभयाे ।

यसैगरी बैठकमा जिल्लामा गठन हुन बाँकी जिल्ला संयोजन समिति गठन गर्ने र मुख्य शहरहरूमा सङ्घीयता, धर्मनिरपेक्ष लगायतमा उठेका प्रश्नहरू चिर्ने गरी कार्यक्रम गर्नेबारे छलफल भएको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया